मंगलबार, चैत ३, २०८२

ई–प्लानेट नेशनल हाइस्कुल च्याम्पियनसीपका लागि लुम्बिनीबाट प्यारामाउन्ट बोर्डिंग हाईस्कुल छनोट

मेरोन्यूज २०८१ पुष २७ गते ११:०४

काठमाडौं । ई-प्लानेट नेसनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिपको लुम्बिनी प्रदेश छनोट प्रतियोगिताको उपाधि प्यारामाउन्ट बोर्डिंग हाईस्कुलले जितेको छ। 

Advertisement
nepal life insurencenepal life insurence

आगामी माघ २३ गते देखि काठमाडौंको मुलपानी क्रिकेट मैदानमा आयोजना हुने ई-प्लानेट नेसनल हाईस्कुल च्याम्पियनसिपको लागि सातवटै प्रदेशमा छनोट प्रतियोगिता आयोजना भइरहेको छ। यस अघि चितवनमा सम्पन्न बागमती प्रदेशको पहिलो छनोटबाट अर्किड कलेज तथा इटहरीमा सम्पन्न कोशी प्रदेश छनोटबाट आस्था कलेज छनोट भएको थियो। आगामी छनोट प्रतियोगिता मधेश प्रदेशमा हुनेछ। 

बुटवल तिल्लोत्तामा स्थित नव जीवन क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनलमा प्यारामाउन्टले एभरेस्ट इंगलिस बोर्डिंग स्कुललाई ८ विकेटले पराजित गर्यो। जितको लागि पाएको ६३ रनको लक्ष्य उसले ७. १ ओभरमा भेटायो।  प्यारामाउन्टको ब्याटिंगमा सन्देश पन्थीले सर्वाधिक ४१ रन योगदान दिए। 

यस अघि टस हारेर ब्याटिंग गरेको एभरेस्टले निर्धारित १० ओभरमा ९ विकेट गुमाएर ६२ रन बनायो। उसको लागि रवी यादबले सर्वाधिक १६ रन योगदान दिए। प्यारामाउन्टको बलिंगमा प्लेयर अफ द म्याच समेत घोषित शिव कुँवरले ४ विकेट लिए जुन क्रममा २ ओभरमा १ मेडन गर्दै मात्र ६ रन खर्चिए। 

छनोटको उपाधि सहित प्यारामाउन्ट बोर्डिंग हाईस्कुलले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो । 

लुम्बिनी प्रदेश छनोटमा कुल ८ टिम सहभागी थिए। सहभागी टिमहरु श्री शान्ति मोडल,कान्ति, प्यारामाउन्ट, न्यु होराइजन, अक्सफोर्ड, होराइजन गौतम बुद्ध, सेन्ट जोसेफ, एभरेस्ट रहेका थिए। 

हाईपयति इभेन्टको आयोजनामा जारि देशव्यापी प्रतियोगिताको आगामी छनोट प्रतियोगिता मधेश प्रदेशमा पुष १८ गते जनकपुरमा सुरु हुनेछ। त्यसपछि लुम्बिनी छनोट बुटवलमा पुष २३ गतेबाट, गण्डकी छनोट पोखरामा पुष २६ गतेबाट, दोश्रो बागमती प्रदेश छनोट काठमाडौँमा माघ ३ गतेबाट, कर्णाली छनोट सुर्खेतमा माघ १० गतेबाट, सुदूरपश्चिम छनोट धनगढीमा माघ १७ गतेबाट हुनेछ। माघ २३ देखि २६ गते राष्ट्रिय फाइनल काठमाडौंमा आयोजना हुने तालिका छ।

प्रतिक्रिया