मिथिलाका थारु बस्तीमा तिलासक्रायतको चहलपहल

महोत्तरी । यहाँका थारु बस्तीमा अहिले तिलासक्रायत पर्वको चहलपहल छ । मधेसको मिथिला क्षेत्रमा माघे सङ्क्रान्तिका दिन मनाइने यो पर्व थारु समुदायको मुख्य पर्व मानिन्छ । अन्त यसलाई ‘माघी’ भन्ने गरिए पनि मिथिला क्षेत्रका थारुले ‘तिलासक्रायत’ भन्ने गर्छन् ।
यस पर्वमा थारु समुदाय घरको लिपपोत तथा रङरोगन गर्छन् । चिउरा, मुरी, जुनेलो र तिलका ‘लाई’ (सख्खरको खुँदोमा मिलाएर बनाइने लड्डु) र माछा र मासुका परिकार बनाउने गर्छन् । घोंगी, माछाका सुकुटी, सिद्रा, खसी, कुखुरा र हाँसको मासु पर्वमा अनिवार्य मानिन्छ ।
यो पर्व थारु समुदायले नयाँवर्षका रुपमा मनाउँछन् । पर्वमा सङ्क्रान्तिका दिन आपसी लेनदेनको हरहिसाब गर्ने र घरका नयाँ कामको योजना बनाउने चलन छ । यस पर्वमा छोरीचेली, ज्वाइँचेला, भाञ्जाभाञ्जी, नातिनातिना सबैलाई बोलाउने र गच्छेअनुसार लत्ताकपडा, दक्षिणा दिने चलन छ । यो पर्व आफ्नो समुदायको मुख्य पर्व भएकाले रमाएर मनाइने भङ्गाहा नगरपालिकाका उपप्रमुख शान्तिसिंह थारु बताउँछन् ।
थारु महिला चित्रकलामा निपूण मानिन्छन् । पर्वमा सबैले घरका भित्तामा आकर्षक चित्र बनाउँछन् । यस पर्वलाई आपसी सम्बन्ध प्रगाढ बनाउने अवसरका रुपमा लिने थारु समुदायको चलन छ । पर्वका दिन बिहानै घरमूलीले नुवाइधुवाइ गरी दालचामल छोएर बस्तीभरिका मान्यजनलाई ढोगभेट गर्दै आशिर्वाद लिने चलन छ । यसअघि कुनै कुरामा चित्त दुखे दुखाएको रहेछ भने यसपर्वमा आपसमा अङ्कमाल गरेर पुराना मन भाँचिएका कुरा बिर्सन अनुरोध गर्छन् । यो पर्वको विशेषपक्ष नै यही भएको भङ्गाहा–७ का स्थानीय चन्द्रनारायण सिंह थारु बताउँछन् ।
थारु पुरुष धोती, कुर्था र कछाड लगाउँछन् । टाउकामा गम्छाको पगरी लाउने गर्छन् । थारु महिलाले चोलो, सारी र मजेत्रोमा सजिन्छन् । गहनाको रुपमा हातमा कल्ली, घाँटीमा हसुली महिलाले लगाउने गर्छन् । पर्वका दिन सामूहिक रुपमा नाचगान गर्ने चलन छ । जिल्लाको भङ्गाहा र गौशाला नगरपालिका थारु समुदायको बाहुल्य भएका क्षेत्र हुन् ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया