‘सात हजार मिटरसम्मका हिमाल आरोहणबाट प्राप्त रोयल्टी प्रदेशलाई दिनुपर्छ’

मकवानपुर। बागमती प्रदेश समन्वय परिषद्को पाँचौँ बैठकले विभिन्न २३ निर्णय गर्दै राष्ट्रिय समन्वय परिषद्मा पठाउने निर्णय गरेको छ ।
राजधानी हेटौँडामा बिहीबारदेखि सुरू भएको उक्त बैठकले परिषद्मा पठाउने सात र प्रदेशले कार्यान्वयन गर्ने १६ वटा निर्णय गरेको हो ।
बैठकले आइइई, इआइएपश्चात् रूख कटानको व्यवस्था प्रदेशबाट हुने व्यवस्था गर्न, रञ्जुमार्ग(रोप-वे) को स्वामित्व प्रदेशलाई दिनुपर्नेलगायत विषयमा राष्ट्रिय समन्वय परिषद्मा सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले विद्युत् विधेयक शीघ्र पारित गर्न एवं विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणको बजेट उपलब्ध गराउने निर्णय राष्ट्रिय समन्वय परिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ ।
सार्वजनिक खरिद ऐनमा संशोधन गरी पुरातात्विक महत्त्वका सम्पदाको पुनर्निर्माणको लागि विशेष कानुनी व्यवस्था गरिनुपर्ने निर्णय गर्दै सिफारिस गरेको छ भने छ हजारदेखि सात हजार मिटरसम्मका हिमाल आरोहण इजाजत तथा रोयल्टीसम्बन्धी अधिकार प्रदेशलाई दिनुपर्ने निर्णय पनि गरेको छ ।
यसैगरी बैठकले बागमती प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीको वैयक्तिक सूचना प्रणालीको दर्ता र व्यवस्थापनका लागि राष्ट्रिय किताबखानाको समन्वयमा सूचना प्रणालीको स्थापना तथा सञ्चालन गर्नेलगायतको निर्णय गरेको जनाइएको छ । सङ्घ, प्रदेश र स्थानीय तह ऐन, २०७७ को दफा २४ (१) को व्यवस्थाअनुसार परिषद् बैठक आयोजना गरिएको हो ।
मुख्यमन्त्री बहादुरसिंह लामाको अध्यक्षतामा बिहीबारदेखि सुरू बैठकमा प्रदेश सरकारका मन्त्रीहरू, स्थानीय जनप्रतिनिधि, जिल्ला समन्वय समितिका प्रमुख ललित घलानलगायतको उपस्थिति रहेको थियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव वेदप्रसाद भण्डारीले प्रदेश तथा स्थानीय तहका कर्मचारी व्यवस्थापन, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले विपद् व्यवस्थापन र यसका चुनौती र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्ण मैनालीले अन्तरसरकारी वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँट विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमाथिको छलफलमा गाउँपालिका महासङ्घ बागमती प्रदेशको अध्यक्ष कर्णबहादुर मगरले प्रदेश लोकसेवा आयोग र सुशासन केन्द्रलाई क्रियाशील बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए । त्यसैगरी रसुवाको उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङले जनप्रतिनिधिको लागि क्षमता अभिवृद्धिको तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपकप्रसाद गौतमले डोजरे विकासलाई निरुत्साहित गर्नुपर्ने बताए । आन्तरिक स्रोतको नाममा प्रकृतिको दोहन गर्ने काम भइरहेको उनको धारणा थियो । रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले दीर्घकालीनरूपमै भौतिक संरचना निर्माणमा देखिएका समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।
तीनै तहका सरकारबीच अधिकार बाँडफाँट, विकास निर्माण, कानुन निर्माणमा समन्वय एवं सहकार्य र उत्पन्न विवाद संवादबाट समाधान गर्न सहजीकरण गर्न परिषद्को बैठक बस्ने गरिन्छ । यसअघि बागमती प्रदेशमा २०७५ जेठ ७ र ८ गते पहिलो बैठक, २०७६ जेठ २९ र ३० गते दोस्रो बैठक, २०७७ चैत १२ गते तेस्रो बैठक र २०८१ जेठ १० गते चौथो बैठक बसेको थियो ।
















अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
प्रतिक्रिया