शनिबार, वैशाख १२, २०८३

हुलाकी राजमार्ग चाँडो सम्पन्न गर्न सरकार तत्पर छ : मन्त्री दाहाल

मेरोन्यूज २०८१ माघ ७ गते २१:०३

बाँके। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माणाधीन हुलाकी राजमार्गको कामलाई छिटोछरितो रुपमा सम्पन्न गर्न सरकार लागिपरेको बताएका छन्।

Advertisement
NiccNicc

नेपालगञ्ज–गुलरिया सडकखण्डअन्तर्गत बाँकेको खजुरा गाउँपालिका-३ स्थित पेडारी नालामा रहेको जीर्ण पुलको आज (सोमबार) स्थलगत निरीक्षण गर्दै मन्त्री दाहालले ढिलासुस्ती नहुने गरी काम अघि बढाउन सरकार गम्भीर रहेको बताएका हुन्। पेडारी नालाको पुलका लागि अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित भइसकेकाले केही दिनमा टेण्डर आह्वान भई काम सुरु हुने उनले जानकारी दिए।

मन्त्री दाहालले भने, ‘हुलाकी सडकअन्तर्गत खजुराको पेडारी नालासहित अन्य आवश्यक स्थानमा पुल निर्माणका लागि केही दिनमा टेण्डर आह्वान हुन्छ।’

सो अवसरमा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक, नेकपा (एमाले) का प्रदेश कमिटी सदस्य किस्मतकुमार कक्षपतिलगायतले ५२ वर्ष पुरानो पुल जुनसुकै बेला भत्किने जोखिम भएकाले नयाँ पुल छिटो बनाउन आग्रह गरे।

सडक डिभिजन कार्यालयअन्तर्गत खजुरामा एक हजार आठ मिटर लम्बाइको चारलेन सडकको काम सात वर्षसम्म पूर्ण हुन नसकेको भन्दै कानुनी अड्चन फुकाएर छिटो काम हुने वातावरण बनाइ दिन खजुरावासीका तर्फबाट मन्त्री दाहालको ध्यानाकर्षण गराइएको अध्यक्ष विकले बताए।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लिलाबहादुर भण्डारीका अनुसार पेडारी नालामा करिब १४ करोडको लागतमा २२ मिटर चौडाइ र ३३ मिटर लम्बाइको पुल निर्माण गरिने छ।

प्रतिक्रिया