शुक्रबार, फागुन २, २०८१

ताप्लेजुङ पाथीभरा क्षेत्रमा गोली चल्यो, ४ जना घाइते

मेरोन्यूज २०८१ माघ १३ गते ९:२०

झापा- ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा केवलकार बनाउन नदिने समूह र प्रहरीबीच झडप हुँदा ४ जना घाइते भएका छन्।

Advertisement
IMEnabil

काफ्लेपाटीभन्दा एक किलोमिटरमाथि रहेको बलुडाँडामा दुई पक्षबीच झडप भएको हो । झडपका क्रममा आन्दोलनकारी घरेलु हतियार लिएर निस्केका थिए भने सशस्त्र प्रहरीले हवाई फायर गरेको थियो। झडपले उग्ररुप लिएपछि प्रहरीले गोली चलाएको थियो।

झडपमा सशस्त्र प्रहरीका तीन जना घाइते भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । आन्दोलनरत पक्षका एक जनालाई प्रहरीको गोली लागेको आन्दोलनकारीले दाबी गरेका छन् ।

आन्दोलनकारीले हतियार लुकाएर राखेको सूचनापछि प्रहरी टोली खोजतलासमा गएको र त्यही बेला आन्दोलनकारीले माथिबाट ढुंगा बर्साएर प्रहरीमाथि आक्रमण गरेको प्रहरीको भनाइ छ । आन्दोलनकारीबाट तीनवटा खुकुरी, गुलेलीलगायत सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

मुक्कुमलुङ संघर्ष समिति, केवलकार खारेजी संघर्ष समिति लगायतले पाथीभरामा बन्ने केवलकारको विरोध गरिरहेका छन् भने पाथीभरा माता केवलकार कम्पनीले निर्माणका लागि जमिन सम्याउने लगायतको काम गरिरहेको छ । मंगलबार जमिन सम्याउन थालेको सूचना प्रवाह भएपछि आन्दोलनकारी पाथीभरा क्षेत्रमा केन्द्रित भएका छन् ।

उनीहरूले तीन सयभन्दा बढी भेला भएको दाबी गरेका छन् ।केवलकार निर्माणको जिम्मा पाएको हिमालयन कन्स्ट्रक्सनका इन्द्र केदेमले १५ महिनाभित्र सक्ने गरी काम सुरु गरेको जनाएपछि निर्माण रोक्न ती समूहरूले दबाव दिँदै आएका छन्।

प्रतिक्रिया