भरतपुर अस्पतालको प्रयोगशाला रिपोर्ट स्वचालित मेसिनबाट

चितवन। यहाँको सङ्घीय भरतपुर अस्पतालले प्रयोगशाला लगायतका परीक्षणको रिपोर्ट स्वचालित प्रविधिमा बिरामी आफैले लिनसक्ने व्यवस्था गरेको छ । अस्पतालले एक मेसिन खरिद गरी बिरामीको परीक्षण रिपोर्ट आफै लिन मिल्ने व्यवस्था गरेको हो ।
अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले परीक्षण रिपोर्ट लिन लामो लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य गर्न मेसिन जडान गरिएको बताए । उनका अनुसार करिब सात लाखमा मेसिन खरिद गरी जडान गरेर सञ्चालनमा ल्याइएको छ ।
अस्पतालका इञ्जिनीयर चन्द्रमणि बस्यालले आफ्नो रिपोर्ट आफैँ प्रिन्ट गरेर लिन सक्ने व्यवस्था गरिएको बताए । उनले भने, “नमूना परीक्षण गर्न दिएका बिरामीले बिलमा भएको क्युआर कोड स्क्यान गरी रिपोर्ट हेर्न र प्रिन्ट गर्न सकिन्छ ।” क्युआर कोड स्क्यान गरी रिपोर्ट प्रिन्ट गर्न मिल्ने मेसिनको परीक्षण सफल भएसँगै बिरामीको सेवा सुरु गरिएको उनले बताए ।
मेसिनबाट एक मिनेटमा तीन वटासम्म रिपोर्ट निकाल्न सकिने बस्यालले जानकारी दिए । उनका अनुसार थप एउटा मेसिन पनि थप खरिद गर्ने अस्पतालको योजना रहेको छ । रिपोर्ट प्रिन्ट गर्ने मेसिन प्रयोगमा आएसँगै प्रयोगशाला रिपोर्ट लिने ठाउँमा बिरामीको चाप घट्ने उनले बताए ।
अस्पतालले प्रयोगशालामा नमूना सङ्कलन गर्दा बिलसँगै क्युआर कोड दिने गरेको छ । सोही क्युआर कोड मेसिनमा देखाएपछि मेसिनले रिपोर्ट दिने गर्दछ । रिपोर्ट तयार हुन लाग्ने समयपछि मेसिनमा गएर क्युआर कोड स्क्यान गरेपछि रिपोर्ट हेर्न र प्रिन्ट गरेर लैजानसमेत सकिने व्यवस्था गरिएको छ ।
मोबाइल प्रयोगकर्ताले क्युआर कोड मोबाइलमै स्क्यान गरेर पनि रिपोर्ट हेर्न सकिने बस्यालले बताए । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले बिरामीको चाप अधिक भएपछि स्वचालित मेसिन ल्याइएको बताए । उनले भने, “हामीले बिरामीलाई थप सहज रुपमा सेवा दिन यो मेसिन प्रभावकारी हुने विश्वास लिएका छौं ।” पछिल्लो समय भरतपुर अस्पतालले आफ्नो सेवामा धेरै सुधार गर्दै आएको छ ।
अस्पतालमा दैनिक दुई हजारभन्दा बढी बिरामीले बहिरंग सेवा लिने गरेका छन् । अस्पतालको थप सेवाका लागि चार वटा भवन निर्माण हुँदै गरेको उनले बताए । अस्पतालमा ट्रमा सेन्टर, सरुवा रोग नियन्त्रण भवन, क्याथ ल्याब र नर्सिङ कलेज निर्माणको क्रममा रहेका छन् । यी भवन निर्माणको काम सम्पन्न भएसँगै बिरामीलाई थप सहज हुने प्राडा पौडेलको भनाइ छ ।
















सुनसरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण
Storm induced disasters kill two, injuring six others in Udayapur
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया