लाहाखेतीबाट मनग्य आम्दानी

मोरङ । झापा गौराहदका डम्बर विश्वकर्माले झापा गौरादहमा २०७५ सालदेखि पाँच बिघा जमिन भाडामा लिई सेमियलताका बिरुवामा लाहाखेती गर्दै आएका छन् । उनले जिल्लाको गौरादह– २ मा ‘निर्मल चप्रा उद्योग’ सञ्चालन गरी वार्षिक एक सयदेखि डेढ सय मजदुरलाई लाहा बाँध्ने, खोल्ने, काट्ने र प्रशोधन गर्न रोजगारी दिएका छन् । उनले भने, ‘लाहाखेतीबाट मनग्य आम्दानी गर्न सकिन्छ ।’
लाहाबाट उत्पादन हुने चप्राको माग बढेसँगै विश्वकर्माले धनकुटा, भोजपुर र तेह्रथुमका किसानलाई लाहाखेती गर्न सिकाएर खरिद गर्दै आएका छन् । वर्षमा दुई याममा उत्पादन हुने लाहा उनले वार्षिक आठ हजार किलोग्रामसम्म उत्पादन गर्दै आएका छन् । उनका अनुसार कोशी प्रदेशबाट वार्षिक २०–२५ क्विन्टलसम्म उत्पादन हुने गरेको छ ।
झापाबाट सुरु गरेको लाहाखेतीले कोशी प्रदेशका पाँच जिल्लामा रोजगारी सृजना सुरु गरेको पूर्व डिभिजन वन अधिकृत विष्णुलाल घिमिरेले बताए । कोशी प्रदेशको चतराको बगरबाट राजमार्ग उत्तरको जङ्गली भेग हुँदै मेचीसम्म लाहाखेतीका लागि उपयुक्त क्षेत्र भएको उनको भनाइ छ ।
लाहाको बीउ उत्पादन गर्न बयरको बोट उत्तम हो । एक किलो लाहा बराबर पाँच सय ग्राम चप्रा निस्किने गरेको छ । रङ्गीन लाहा सात–आठ सयमा बिक्री हुँदै आएको छ भने कुसुमी लाहा एक हजार रुपैयाँ प्रतिकेजीमा बिक्री हुने गरेको छ ।
विश्वकर्माले प्रदेशभरिका लाहा खरिद गर्ने र प्रशोधन गरी चप्रा उत्पादन गर्दै आएका छन् । उक्त चप्रा पूर्वकै बजारमा अपुग रहेको विश्वकर्माले बताए । लाहाबाट चप्रा निस्किन्छ भने चप्राबाट रेजिन, गम र पप्स तीन चिज निस्किन्छ । उक्त चप्रा सुन तथा फर्निचर पसलमा जाने गरेको छ ।
लाहाखेतीका लागि धनकुटाको साँगुरीगढी गाउँपालिका र चौबीसे गाउँपालिका उर्वरभूमि रहेको मोरङ जिल्ला वन कार्यालयका प्रमुख उत्सव थापाले बताए ।
लाहाखेती बहुआयामिक भएकाले कोशी प्रदेश सरकारले लाहाखेती विस्तार र प्रवर्द्धन कार्यक्रम नै सुरु गरेको थापाको भनाइ छ । राम्रो आम्दानी र रोजगारी सृजना हुने भएकाले बाँझो खेत राख्नुभन्दा लाहाखेती लगाएर आम्दानी बढाउन सामुदायिक वन र किसानलाई थापाले सल्लाह दिँदै आएको बताए ।
तराई भेगको तातो हावापानी भएको क्षेत्रमा हुने, शिरिष, मौवा, वडहर, कुसुम खयर, बयरजस्ता कमलो बोक्रा भएका रुखमा यसको खेती हुने गरेको छ ।
लाहा एक प्रकारको कीरा हो । रङ्गीन र कुसुमी प्रजातिका कीराबाट लाहा उत्पादन हुने गर्छ । यो भाले र पोथी गरी दुई प्रजातिको हुन्छ । यस कीराले उत्पादन गरेको चोपबाट लाहा उत्पादन हुने गर्दछ । यो फिमेल लाहा कीराले गर्भधारण गर्ने बेलामा निस्किएको तरल पदार्थबाट उत्पादन हुने डम्बर विश्वकर्माले बताए ।
विश्वकर्मा सात वर्ष भारतको पश्चिम बङ्गालको लाहा कारखानामा काम गरी २०७५ सालबाट गौरादहमा लाहाको खेतीसँगै चप्रा प्रशोधन गर्दै आएका छन् । चप्रा मागअनुरुप उत्पादन नभएको र भारतबाटै आयात गर्नुपरेको विश्वकर्माले बताए । तराईका वन र बाँझो खेतमा यो खेती गरे रोजगारी र आम्दानी दुवै हुने डम्बर विश्वकर्माको भनाइ छ ।
प्रशस्त उत्पादन हुने क्षेत्र भए पनि किसान र सामुदायिक वनलाई यस विषयमा जानकारी नभएकाले आम्दानी गर्न नसकेको विश्वकर्मा बताउँछन् । विश्वकर्माले झापा गौरादहमा पाँच बिघा जमिन लिजमा लिएर लाहाखेतीसँगै प्रशोधन र खरिदबिक्री गर्दै आएका छन् ।
लाहाबाट प्रशोधन गरेको चप्राबाट सुनका गहना बनाउन, फर्निचरको प्राकृतिक रङ उजिल्याउन, मेकअपका समान निर्माण गर्न, औषधिमा प्रयोग गर्न र शीलबन्दीका लागि प्रयोग हुने गर्दछ । नेपालमा प्रशस्तै उत्पादन हुने भए पनि राज्यबाट कुनै पहल नभएकाले व्यावसायिक हुनसकेको छैन । हाल कोशी प्रदेशमा लाहाखेतीलाई मोरङ जिल्ला वन कार्यालयले अभियानका रूपमा अगाडि बढाएको छ ।













आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी : शेखर कोइराला
Foreign Minister Sharma leaves for Dhaka
64 days to go for voting: 64 political parties submit closed lists for proportional representation
विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया