डाडाखेतमा ‘सवस्टेशन’ निर्माण अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाडाखेतमा विद्युत सवस्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
नेपाल विद्युत प्राधिकरणद्धारा सञ्चालित डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजना मार्फत सवस्टेशनको पूर्वाधार निर्माणको काम सकेर उपकरण जडान थालिएको हो । म्याग्दी नदी र सहायक खोलाहरुमा निर्माणाधिन जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रिय ग्रिडमा जोड्ने उद्देश्यले डाडाखेतमा सवस्टेशन निर्माण गरिएको हो ।
आयोजना प्रमुख रोशन अग्रवालले ८५ प्रतिशत भौतिक प्रगति भएको डाडाखेत सवस्टेशनको काम आगामी तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताए । पूर्वाधार निर्माण सकेर उपकरण जडान थालिएको उनले बताए । ५१ रोपनी क्षेत्रफलमा निर्माण भएको डाडाखेत सवस्टेशनमा १३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रबिधिको उपकरण जडान गर्न थालिएको छ ।
डाडाखेत देखि रघुगङ्ग गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर १३२ केभी क्षमताको प्रशारण लाइन र दुवै ठाँउमा सवस्टेशन निर्माणका लागि सन २०२१ को डिसेम्वर ३१ मा २६ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद आगामी २०२५ को नोभेम्बर १६ सम्म थप भएको छ ।
“समग्रमा ६० प्रतिशत भौतिक प्रगति भएको छ,” आयोजना प्रमुख अग्रवालले भने, “राहुघाटमा कमजोर भूवनोट र विपद्को जोखिम, वन क्षेत्रमा टावर निर्माणका लागि अनुमति पाउन भएको ढिलाई र केही टावर निर्माण स्थलमा समुदायको बिवादका कारणले आयोजना निर्माण अवधी लम्वीएको हो ।” एशियाली विकास बैंकको ऋणमा सवस्टेशन र प्रशारण लाइन निर्माण आयोजना सञ्चालन भएको हो ।
राहुघाटको सवस्टेशन निर्माणले गति लियो
भूमिगत पानी र पहिरो प्रभावित राहुघाटमा सवस्टेशनको डिजाइनमा समस्या भएकाले ठेक्का सम्झौताको २७ महिनापछि गत जेठ महिनादेखि नेपाली सहायक ठेकेदार डिएल स्ट्रक्चरले काम थालेको थियो ।
२२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेशनमा उपकरण राख्ने र कार्यालयको भवन बनाउन जग्गाको फाउण्डेशन सकेर संरचना बनाउन थालिएको एनएलटीका आयोजना ब्यवस्थापक सुवासचन्द्र शर्माले बताए ।
सवस्टेशनमा जडान गर्ने उपकरण आयात भइसकेको छ । भूमीगत पानी ब्यवस्थापन गर्ने संरचना बनाएर सवस्टेशनको काम थालिएको हो । हाल दैनिक एक सय जना मजदुरले काम गरिरहेका छन् । अम्बाङमा सव स्टेशन बनाउन पाँच वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो ।
१३२ केभी क्षमताको डबल सर्किट प्रशारण लाइनको ८२ वटा टावर मध्य हालसम्म ५१ वटा निर्माण सकिएको र १० वटा निर्माणाधिन रहेका एनएलटीका व्यवस्थापक शर्माले बताए । उनका केही दिनमा प्रशारण लाइनमा तार तान्नका लागि भारतबाट प्राविधिक र मजदुरहरु आउदैछन् ।
रघुगंगा गाउँपालिकाको वडा नम्बर ३, बेनी नगरपालिकाको ९, १०, मंगला गाउँपालिकाको वडा नम्बर १, मालिकाको वडा नम्बर ६ र ७ मा प्रशारण लाइनको टावर निर्माण स्थल हुन् । दुबै ठाउँमा यसअघिनै जग्गा ब्यवस्थापन, घेराबार, पहुँचमार्गका साथै डाडाखेतमा गार्ड र कर्मचारी आवास गृह भवन समेत निर्माण भएको छ ।
म्याग्दी नदीमा एक सय ७२.८ मेगावाट क्षमताको चार वटा जलबिद्युत आयोजना निर्माण शुरु भएका छन् । राहुघाटमा ३५.५ मेगावाटको राहुघाट मंगले र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट, २१.३ मेगावाट क्षमताको ठुलोखोला र ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजना निर्माणाधिन छन् । ५.५ मेगावाट क्षमताको बगरखोला, ४.७५ मेगावाटको स्यानोखोला, ४.९० मेगावाटको अपर ठुलोखोला र १५ मेगावाटको माथिल्लो ठुलोखोला जलबिद्युत आयोजना निर्माणको अन्तिम चरणमा छन् ।
तुदी पावरद्धारा निर्माणाधिन अपर राहुघाट र मंगले राहुघाट जलविद्युत आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रशारण लाइनमा विद्युत आपुर्ति गराउने तयारी गरेका छन् ।
तुदीले पिप्लेमा १३२ केभी प्रशारण लाइन मुनी र क्रसिङ हुने गरेर बनाएको टावर हटाउन डाडाखेत राहुघाट प्रशारण लाइन आयोजनाले ताकेता गरेको छ । डाडाखेत राहुघाट प्रशारण लाइनको ए ३ नम्बरको टावरलाई असर पर्ने गरेर तुदीले अस्थायी टावर बनाएको हो ।










सहरलाई सुरक्षित र व्यवस्थित बनाउन प्रविधिमैत्री बन्दै कामपा
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
ओली हावा कुरा गर्छन्, उनीबाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन् : प्रचण्ड
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो: संयोजक दाहाल
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
प्रतिक्रिया