शुक्रबार, वैशाख १२, २०८२

सेवा विविधिकरणले राससको औचित्य थप स्थापित भएको छः प्रधानमन्त्री

मेरोन्यूज २०८१ फागुन ७ गते ७:१३

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले राससको सेवा विविधिकरणले यसको औचित्य थप स्थापित हुँदै गएको बताउनुभएको छ । राससको ६४औँ वार्षिकोत्सवका अवसरमा राससमा आबद्ध व्यवस्थापक, पत्रकार÷कर्मचारी तथा सम्बद्ध सेवाग्राहीमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै उहाँले यसको कानुनी र संरचनात्मक सुधार एवं थप श्रीवृद्धिका लागि गर्नुपर्ने सहजीकरणका लागि सरकारले आवश्यक पहल लिने समेत प्रतिबद्धता जनाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले परिवर्तित सन्दर्भमा सत्यतथ्य, विश्वसनीय, आधिकारिक र भरपर्दो समाचारका माध्यमबाट आमजनतालाई सुसूचित गराउने कार्यमा राससको दायित्व र भूमिका अझ बढ्दै गएको महसुस भएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “सूचना–प्रविधिको व्यापकतासँगै आमसञ्चार क्षेत्रले गुणात्मक फड्को मारिरहेको वर्तमान अवस्थामा राससले आरम्भ गरेको श्रव्यदृष्य सेवा, मातृभाषा समाचार सेवा, सांसदसँग रासस संवाद, आलेख÷विचार आदि सेवाको विविधिकरणका कार्यले यसको औचित्य थप स्थापित हुँदै गएको मान्न सकिन्छ ।”

मुलुकको हरेक राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनमा एक साक्षीका रुपमा राससले विगतदेखि खेल्दै आएको भूमिकालाई वर्तमान समय सुहाउँदो बनाउनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले राससले सेवा प्रवाहमा छिटो छरितोपना, व्यावसायिकता र गुणस्तरीयता कायम गर्दै आमजनता र सरकारबीच सेतुको भूमिका निर्वाहमा आफूलाई अझै अब्बल सावित गर्न सक्नुपर्नेमा जोड दिएका छन् ।

भ्रामक र मिथ्या सूचना–समाचारले समाजमा एक प्रकारको विद्वेष र विवाद सिर्जना गरी सामाजिक अराजकता र अस्थिरता मच्याउने कोसिस भइरहेका सन्दर्भमा त्यसलाई चिरेर जनतालाई सही सूचना प्रवाह गर्न रासस जस्ता समाचार संस्थाले आफूलाई अग्रणी रुपमा प्रस्तुत गर्न सक्नुपर्छ”, उनले भनेका छन् ।

प्रधानमन्त्री ओलीले अहिलेको सरकार विकास, समृद्धि र स्थिरताका लागि बनेको प्रष्ट पार्दै सरकारले विकासका कामलाई तीव्रताका साथ अगाडि बढाएको उल्लेख गर्नुभएको छ । “यो सरकारको सबैभन्दा पहिलो प्राथमिकता थालेको काम सक्ने हो । अघिल्लो पटक सुरु भएका विकास निर्माणका काम अहिले अगाडि बढिरहेका छन्”, उनले भनेका छन्।

वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण निष्ठावान रहेको प्रष्ट पार्दै उनले प्रेस स्वतन्त्रताप्रतिको सरकारको निष्ठा व्यवहार सिद्ध रहेको बताएका छन्। प्रेस जगतले राष्ट्रियता, लोकतन्त्र, सुशासन र विकासलाई सहयोग पुग्ने गरी जिम्मेवार भूमिका खेल्न सक्नुपर्ने उनको भनाइ छ ।

“अहिलेको सरकारले राष्ट्रको अभिभारा पूरा गर्ने गन्तव्य निर्धारण गरेको छ, यस उद्देश्यलाई प्राप्त गर्न हामी स्पष्ट दूरदृष्टि, तदअनुसारका नीति र कार्यक्रम एवं ती नीति र कार्यक्रमलाई कार्यान्वयन गर्न क्षेत्रगत कार्ययोजना र आवधिक लक्ष्यसहित अघि बढिरहेका छौँ”, उनले भनेका छन् ।

राष्ट्रका अभिभारा पूरा गर्न सरकारले अघि सारेको सामाजिक परिवर्तन, विकास, सुशासन, स्वच्छता र पारदर्शिताको यस अभियानलाई जनसमक्ष विस्तार गर्न राससले महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

प्रतिक्रिया