शुक्रबार, फागुन २९, २०८२

जसले जन्मदिनलाई सत्कर्मसँग जोड्दै ६ हजार वृक्ष रोपे

मेरोन्यूज २०८१ फागुन १२ गते २०:१९

Advertisement
nepal life insurencenepal life insurence

रौतहट। जन्मदिनसँग सत्कर्म जोडौं अभियान अन्तर्गत विभिन्न जातको ६ हजार वृक्षरोपण गरिएको छ। प्रेस काउन्सिल नेपालका पूर्वसदस्य तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्दप्रसाद चौलागाईंले विभिन्न जातको बिरुवा रोपेर आफ्नो ५० औं जन्मोत्सव आइतबार मनाए। 

चौलागाईं अध्यक्ष रहेको संस्था तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वाराा उनको ४९ जन्मोत्सवको अवसर पारेर गत वर्षदेखि ‘जन्मदिनलाई सत्कर्मसँग जोडौं’ अभियान अन्तर्गत वृक्षरोपण कार्यक्रमको शुभारम्भ गरिएको थियो। उनको यस अभियानसँग जोडिएर हालसम्म विभिन्न जातको ६ हजार बिरुवा रोपिएको छ।

वर्तमान समयमा मानिसले आफ्नो जन्मदिनको अवसरमा ठूला-ठूला होटलमा हजारौं खर्चिनु निरर्थक रहेको तथा एउटा बिरुवा हुर्काउन सके आजीवन जन्मदिनको सम्झना दिने भएकाले वृक्षारोपण गरेर जन्मदिन मनाइएको पत्रकार चौलागाईंले बताए।

‘आफ्नो जन्मदिनमा एक-एक बिरुवा रोप्नुपर्ने सन्देश समाजमा फैलाउनु साह्रै नै सकारात्मक कुरा हो। बिरुवा रोपेर मात्र हुँदैन, यसको संरक्षण पनि गरिनु त्यति नै आवश्यक छ,’ उनको भनाइ छ।

नेपाली समाजलाई सभ्यता अनुसार अगाडि बढाउन सत्कर्म आवश्यक रहेको बताउँदै आयोजक संस्थाका अध्यक्ष तथा अभियानका संयोजक चौलागाईंले यो अभियानलाई देशका सम्पूर्ण भागमा पुर्याउनुपर्ने बताएका छन्।

जन्मदिनलाई सत्कर्मबाट जोडौं अभियानको थालनी भएसँगै  पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन संसदीय शिक्षा तथा सूचना प्रविधि समितिका सभापति यज्ञबहादुर थापा, पूर्वमन्त्री डा. वंशीधर मिश्र, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष विपुल पोखरेल, वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी,गोपाल छाङ्छा लगायतले आफ्नो जन्मदिनलाई सत्कर्मबाट जोड्न काठमाडौंमा वृक्षरोपण गरेर मनाएका छन्।

त्यसैगरी, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, कलाकार दिपाश्री निरौला, केकी अधिकारी, गायक युवराज चौलागाईं, सुनिता दुलाल,  गायिका जुनु रिजाल, कुशल प्रशासक कुलमान घिसिङ, वरिष्ठ मुटुरोग विशेषज्ञ ॐ मुर्ति अनिल, काठमाडौं जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत लगायतका व्यक्तित्वले काठमाडौं आराध्यदेव पशुपति नाथको मृर्गस्थली वनमा जन्मदिनलाई सतकर्ममा जोडौं भन्दै रौतहटबाट थालिएको अभियानलाई ऐक्यवद्धता जनाउँदै रुद्राक्ष, कपुर र चन्दनको वृक्ष रोपेका थिए।

आयोजक संस्थाका अध्यक्ष चौलागाईंका अनुसार अभियान सुरू भएयता रौतहट, नुवाकोट, काठमाडौं, ललितपुर, कञ्चनपुरलगायत देशको कैयौं स्थानमा सयौं मानिसहरूले आफ्नो जन्मदिनको अवसरमा ६ हजार बिरुवा रोपेर मनाएका छन्। 

प्रतिक्रिया