बिहीबार, फागुन २८, २०८२

हिमपातले विद्यार्थी बिरामी हुँदा पठनपाठन प्रभावित

मेरोन्यूज २०८१ फागुन १९ गते १५:५०

ढोरपाटन । बिहीबारदेखि परेको हिमपातका कारण चिसो बढ्दा ढोरपाटन उपत्यका क्षेत्रका विद्यार्थी बिरामी परेका छन् । एउटै विद्यालयका ५० बढी विद्यार्थी बिरामी पर्दा पठनपाठन प्रभावित भएको हो । बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित ज्योति विकास माध्यमिक विद्यालय र सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी परेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

ज्योति विकास माध्यमिक विद्यालयका १८३ जना विद्यार्थीमध्ये करिब १०० विद्यार्थी मात्रै पढ्न आएको प्रधानाध्यापक चकबहादुर अदैले जानकारी दिए । विद्यालय आएका विद्यार्थीहरु पनि ज्वरो र रुघाखोकीबाट ग्रसित बनेको उनको भनाइ छ । बिहीबार रातिदेखि नै ढोरपाटनमा हिउँ परेको थियो ।

विद्यालयमा बालबालिकालाई न्यायो बनाउने कुनै पनि सामग्री नहुँदा चिसो सिरेटाका कारण विद्यार्थी बिरामी परेको प्रधानाध्यापक अदैले बताए । बालबालिका बिरामी हुन थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने स्थिति आउन सक्ने उनको भनाइ छ ।

चिसोका कारण गत पुस २० गतेदेखि बन्द भएको विद्यालय माघ २० गतेदेखि सञ्चालनमा आएको अदैले जानकारी दिएका छन् । “गर्मी बढ्ने बेला हिउँ प¥यो, धेरै विद्यार्थी बिरामी परेर पठनपाठन प्रभावित बनेको छ, दुई दिन हिउँ प¥यो, चिसो सिरेटो चल्ने गर्छ, माथिल्लो डाँडामा अझै बाक्लो हिउँ छ,” अदैले भने, “विद्यालयमा बालबालिकाको उपस्थिति कम हुँदै गएको छ, चिसोका बेला विद्यार्थीलाई न्यायो बनाउने सामग्री हुन्थ्यो भने पठनपाठन गर्न सहज हुन्थ्यो, चिसो ठाउँमा सिमेन्टका भवन छन्, त्यसले झन् चिसो हुन्छ ।” उनले कोठा चिसो हुँदा मैदानमै बसेर पढाउने गरेको भन्दै दिनभर चिसो सिरेटो चल्दा पठनपाठन गर्न समस्या भएको सुनाउनुभयो । कक्षाकोठामा हिटरको व्यवस्थापन गर्न सके सहज हुने अदैको भनाइ छ ।

ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले पूर्वधार निर्माणबाहेक अरू केही नगरेको बताए । चिसो ठाउँमा बालबालिकालाई सुरक्षित साथ पठनपाठन गराउन न्यानो प्रदान गर्ने सामग्रीहरु उपलब्ध गराउन आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया