सोमबार, वैशाख १५, २०८२

हिमाल सरसफाइ अभियानलाई निरन्तरता दिनेछौँ: वनमन्त्री शाही

मेरोन्यूज २०८१ फागुन १९ गते २१:४३

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमाल सरसफाइ अभियानलाई निरन्तरता दिइने बताएका छन् । बजेट अभावले रोकिएको अभियानलाई निरन्तरता दिई जलवायु परिवर्तन न्यूनीकरणमा जोड दिने उनको भनाइ छ ।

मन्त्री शाही र प्रधानसेनापति अशोकराज सिग्देलबीच आज मन्त्रालयमा भएको भेटमा उनले हिमाल सरसफाइको अभियानलाई निरन्तरता दिन आग्रह गर्दै मन्त्रालयका तर्फबाट आवश्यक सहयोगका लागि तयार रहेको बताए ।

हिमाली क्षेत्रमा पर्वतारोहीहरूले छोडेको फोहोर सफाइ गरी वातावरणीय प्रदूषण न्यूनीकरण, हिमालको पवित्रता जोगाउने उद्देश्यका साथ नेपाली सेनाको अगुवाइमा सुरु भएको यो अभियानमा बजेटको कमीले समस्या उत्पन्न भएको थियो । मन्त्री शाहीले बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्दै अभियानलाई निरन्तरता दिन आग्रह गरे ।

नेपालमा सगरमाथा, ल्होत्से, अन्नपुर्णलगायत आठ हजार मिटरभन्दा अग्ला हिमालहरू सरसफाइ गरी स्वच्छ राख्न सके हिमाल आरोहण गर्ने पर्वतारोहीसमेत बढ्ने मन्त्री शाहीको भनाइ थियो ।

प्रकृति र पर्यावरणको प्रभावकारी संरक्षणका निम्ति विश्वका अग्ला हिमालको स्वच्छता कायम राख्ने सरकारको राष्ट्रिय कार्यक्रमलाई कार्यन्वयन गर्दै जाँदा बजेट अभावले समस्या उत्पन्न भएको नेपाली सेनाले जनाएको छ । प्रधानसेनापति सिग्देलले बजेट व्यवस्थापन भए यो अभियानलाई विशेष महत्वका साथ अगाडि बढाउन सेना तयार रहेको बताए ।

प्रतिक्रिया