गाउँमै पुगेर उपचार गर्दै स्वास्थ्यकर्मी

दार्चुला। गाउँमा भाइरल ज्वरोका बिरामी बढेसँगै दार्चुलाका स्वास्थ्यकर्मी गाउँमै पुगेर उपचार गर्न थालेका छन् । यहाँको मालिकार्जुन र दुहुँ गाउँपालिकाका स्वास्थ्यकर्मीले गाउँबस्तीमै पुगेर उपचार तथा परामर्श सेवा थालेका हुन् ।
मालिकार्जुन गाउँपालिका–५ मल्तडीमा भाइरल ज्वरो फैलिएसँगै स्वास्थ्यकर्मी गाउँमै पुगेर उपचार गरेका छन् । दलितको बाहुल्य रहेको मल्तडी बस्तीमा पस्ती आधारभूत अस्पतालका डा निराजन बोहरा नेतृत्वको टोलीले उपचार गरेको हो । उनीहरूले बिरामीलाई परामर्श सेवा, स्वास्थ्य जाँच गरेका छन् ।
मौसममा आएको परिवर्तनले अहिले बिरामी गाउँभरि बढेको पाइएपछि गाउमै उपचार थालिएको पस्ती आधारभूत अस्पतालका जनस्वास्थ्य निरीक्षक रामसिंह खत्रीले जानकारी दिए । “तीन–चार दिनदेखि गाउँमा भाइरल फैलिएको खबर आएसँगै बस्तीमै उपचार गर्न गएका हौँ”, उनले भने, “गाउँभरिका एक सय २२ जनाको स्वास्थ्य जाँच गरिएको छ ।” बिरामीमा ज्वरो आउने, खोकी लाग्ने, हातखुट्टा दुख्नेलगायत लक्षण देखिएको उनले बताए । बिरामीलाई गाउँमै उपचारसँगै औषधि वितरण गरिएको छ । वडामा डाँडाकोट स्वास्थ्यचौकी भए पनि पालिका तहबाट विशेषज्ञसहितको उपचार गरिएको हो ।
यसैगरी दुहुँ गाउँपालिका–२ ले गाउँमा एक सातादेखि भाइरल ज्वरो फैलिएको भन्दै बस्तीस्तरमै सेवा दिने भएको छ । हिकिला स्वास्थ्यचौकीले चैत ७ देखि चैत १२ गतेसम्म सबै बस्तीमा पुगेर जाँच, परामर्श सेवा तथा उपचार र औषधि वितरण गर्ने स्वास्थ्यचौकी प्रमुख जनस्वास्थ्य निरीक्षक मोहनसिंह धामीले जानकारी दिए ।
अहिले जिल्लाका विभिन्न क्षेत्रमा भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको चाप जिल्ला अस्पतालमा समेत बढेको डा सञ्जीव श्रेष्ठले बताए । उनले भने, “दिनहुँ भाइरल ज्वरोका बिरामी बढेका छन् । ठाउँ अभावमा उपचार गराउनै समस्या हुने अवस्था आएको छ ।”
जिल्ला अस्पताल दार्चुलामा दैनिक दुई दर्जनभन्दा बढी भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । यसबाट प्रभावित हुनेमा सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा रहेको सम्बन्धित स्थानीय तहका स्वास्थ्य शाखाले जनाएका छन् । बालबालिकालाई विशेष सावधानी अपनाउन आग्रह गर्दै स्वास्थ्य समस्याबाट जोगिन पर्याप्त मात्रामा पानी पिउने, भीडभाडबाट टाढा रहने, मास्क लगाउने र सरसफाइमा ध्यान दिन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।













Gold price increases by Rs 600 per tola
३१ अंकले बढ्यो सेयर बजार
ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया