दैनिक दुई सय लिटर दूध बेच्ने किसान पुरस्कृत

डुम्रे । डुम्रेको व्यास नगरपालिका–१३ बेलबासका लेखनाथ बाँस्तोला धेरै दूध उत्पादन गरेबापत पुरस्कृत भएका छन् । उनले प्रोत्साहन स्वरुप एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका हुन् । गण्डकी प्रदेशको ‘उत्पादनमा आधारित अनुदान कार्यक्रम’अन्तर्गत पुरस्कार प्राप्त गरेपछि उनले गौरवान्वित महसुस गरेको प्रतिक्रिया दिए ।
पाँच वर्ष अघिदेखि कृषि पेशामा लागेका बाँस्तोलाले यातायात व्यवसाय छाडेर व्यावसायिक रूपमा गाईपालन तथा बाख्रापालन गरेका छन् । उनले कोभिड १९ का बेला लामो समयसम्म बन्दाबन्दी (लकडाउन) भएपछि गाउँ फर्किएर पशुपालन सुरु गरेका थिए ।
उनका फार्ममा हाल उन्नत प्रजातिका २२ वटा जर्सी तथा होलस्टेन जातका गाई छन् । जसमध्ये १५ लैना गाईबाट दैनिक दुई सय लिटर दूध उत्पादन गरी मासिक चार लाख रुपैयाँको दूध बिक्री गर्ने गरेको बाँस्तोलाले बताए ।
गाउँकै बेलबास दुग्ध उत्पादक सहकारीमा दूध बिक्री गरेर खर्च कटाएर मासिक दुई लाख रुपैयाँ बचत हुने गरेको उनले बताए । बाँस्तोलाले भने, ‘उत्पादनमा आधारित अनुदानअन्तर्गत पुरस्कार पाएपछि पेशाप्रति गौरव महशुस भएको छ ।’
यातायात व्यवसायभन्दा गाईपालनबाट सन्तुष्टी मिलेको बाँस्तोलाको भनाइ छ । बेलबास दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष केशवबहादुर रानाले उनी गाउँमा सबैभन्दा धेरै दूध उत्पादन गर्ने किसान भएको बताए ।
गाईको साथै बाँस्तोलाले बाख्रापालनबाट पनि आम्दानी गर्दै आएका छन् । उनले ५० वटा बोयर बाख्रा पालेका छन् । गाई र बाख्रा दुवै थप गरेर हालको आम्दानीलाई दोब्बर पार्ने सोच बनाएको बाँस्तोलाले बताए ।
सरकारलाई अनुदान दिने प्रक्रिया बदल्नु जरुरी रहेको किसान बाँस्तोलाको सुझाव छ । व्यवसाय गरेको कागज बनाउने, अनुदान लिने र अनुदान पाएपछि पेशा छाड्ने गरेकाले अनुदानको दुरुपयोग भएको बाँस्तोलाको गुनासो छ ।















सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
इरानले विश्वकप फुटबलमा भाग नलिने
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
टी–२० विश्वकप फाइनल : भारतद्वारा न्यूजिल्यान्डलाई २५६ रनको लक्ष्य
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
प्रतिक्रिया