मंगलबार, चैत २५, २०८१

आश्रम निर्माणार्थ वृद्धाभत्तादेखि खुत्रुकेसम्म दान

मेरोन्यूज २०८१ चैत २४ गते २०:२२

भक्तपुर । मध्यपुरथिमि–३ गठ्ठाघर निवासी ७८ वर्षीया मिश्री देउजा साेमबार वृद्धाभत्ताबापत प्राप्त रकम बोकेर मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित ज्ञानविज्ञान महायज्ञस्थल पुगिन्।

बैङ्कबाट आइतबार निकालेको रु ११ हजार १११ वृद्धाभत्ता बोकेर छोरी बिणाको साथमा आइपुगेकी उनले मानव कल्याण समाजले भवन निर्माणार्थ आयोजना गरेको महायज्ञमा दान दिइन्। उनले भनिन्, “जसको कोही छैन, उनीहरूको भगवान हुन्छ भन्छन्, मेरो वृद्वाभत्ता ती असाहयका लागि सहयोग गर्न पाउँदा मेरो मन आनन्दित छ।”

काभ्रेको नमोबुद्ध नगरपालिकाबाट आमाको साथमा आएकी सात वर्षीया बालिका आस्भी खनालले खुत्रुकेमा जम्मा गरेको रु पाँच हजार ५५ दान गर्दा धरैको आँखा रसाए।  पाँच वर्षदेखि रक्त क्यान्सरको उपचार गराइरहेका मध्यपुरथिमि निवासी गोविन्दप्रसाद न्यौपानेले यज्ञस्थलमै आएर रु २१ हजार दान गरे।

दुवै मिर्गौलामा खराबी आएपछि उपचार गराइरहेका सूर्यविनायक नगरपालिका–२ बालकोट निवासी नारायण बस्नेतले अस्पतालमा डायलासिस सकाएर सिधै महायज्ञस्थल आएर रु ११ हजार दान दिए। यी केही प्रतिनिधि पात्र हुन्। सयौँ ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीले यहाँ भइरहेको महायज्ञस्थलमा आएर दान गरेका छन्।

मानव कल्याण समाजकी संस्थापक अध्यक्ष एवं महायज्ञकी कथावाचिका देवीसुमी मानव भन्छिन्, “यो निस्वार्थ धार्मिक कार्य हो, २०७४ सालदेखि सडकमा रहेका मानवको उद्धार गरी खाना, नाना र छानाको व्यवस्था गर्दै आएका छौँ, असाहयहरूको आवास अस्थायी भयो त्यसैले आफ्ना कोही नहुने बेसाहाराहरूका लागि साहारा बन्न हामीले सहयोगी हात र मनहरूलाई जोड्दैछौँ।”

सडकबाट उद्धार गरिएका असहाय सडक एवं बेवारिसे मानवको लालनपालन र स्थायी आवाससहितको दिगो व्यवस्थापनका लागि आयोजना गरेको महायज्ञसँगै भक्तपुरको झौखेलमा जस्ताको टहरामा जीवन गुजारिरहेका बेसाहाराको आश्रम अवलोकन गरिदिनुहुन उनले आग्रह गरिन्।

महायज्ञस्थलमा रु ५१ हजार दान दिने स्थानीय परशुराम कार्कीले भने, “जिन्दगी त सुखुदुःख चलाउन सकिन्छ, तर कोही नहुनेहरूका लागि अलिकति मन फराकिलो बनाउन सहयोग गर्न पाउँदा जीवन जिउनुको सार्थकता मिल्यो, जिन्दगीमा यसैगरी सहयोग गर्न पाइरहियोस्।”

महायज्ञस्थलमा आज सडकबाटै उद्धार गरिएका सात बालिकालाई गन्यूचोली र छ बालकको चुडाकर्म अर्थात् व्रतबन्ध गरिएको थियो। उक्त कार्यमा स्थानीय दाताको सहभागिताले ती बालबालिकाको मन प्रफुल्लित बनाएको महायज्ञ आयोजना मूल समारोह समितिको सचिवालयका बेदप्रसाद खरेलले बताए।

भक्तपुरलाई सडक मानवमुक्त बनाउने अभियान सुरु भएको करिब पाँच वर्षमा जस्ताको टहराबाट मानव कल्याण धाम बनाउन सके धेरै बेसाहाराका लागि दिगो बासस्थानको व्यवस्था गर्न सकिने भएकाले सो महायज्ञ गरिएको जनाइएको छ। महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष नरेश रञ्जितले हालसम्म दाताहरूबाट महायज्ञमा रु ३० लाख सङ्कलन भएको जानकारी दिए।

उनले भने, “सडक मानवमुक्त पार्ने अभियानलाई विगत चार वर्षदेखिनै साथ दिँदै आएका छौँ, यहाँ आफ्नै सन्तानले बाबुआमालाई नहेर्ने जमानामा उहाँले सडकमा अलपत्र मानवलाई उठाएर आश्रम पुर्याएर गरेको सेवा देखेर प्रभावित भइ यो अभियानमा साथ दिएका छाँै।”

महायज्ञ मूल आयोजक समितिका संयोजक गोपी न्यौपानेले मानव भएर मानवकै लागि सहयोग जुटाउन गरेको महान् कार्यमा सहयोगी हात र मनहरू थपिँदै गएको बताए। उनले भने, “जन्म दिएर नौ महिनाअगाडि सालनालसहित झाडीमा फालिएकी बालिका यही महायज्ञमा नन्दलाला ९कृष्ण० बनाएर कृष्णजन्मोत्सवको नाटक प्रदर्शन गरी परिक्रमा गर्दा नौ महिनाकी बालिकालाई सहभागी सबैले कृष्ण भगवान् मानेर दर्शन गर्ने र झाडीबाट उठाएर सेवा घर पुर्याएर सालनाल काटेर ग्रहण गर्ने आमा आज यही महायज्ञमै कथा वाचिका हुनुले सहभागीलाई नतमस्तक बनाएको छ।”

विसं २०७२ देखि भक्तपुरबाट सडकमा बेवारिसे मानवलाई चाउचाउ, बिस्कुट तथा पानी बाँडेर सुरु भएको यो अभियान २०७४ सालदेखि दाताहरूको सहयोगले भाडाको घर लिएर खरिपाटीबाट सुरु भएको आश्रम हाल झौखेलको टहरा बेसाहाराको आश्रयस्थल बनेको छ।

समाजले हाल भक्तपुरको झौखेलस्थित टहरामा ४१ जना बेवारिसे सडक मानवको पालनपोषण गर्दै आएको समाजका सचिव विजयकुमार पोखरेलले जानकारी दिए। त्यसैगरी पशुपति, काभ्रेको पनौती, धुलिखेल, दाङको तुलसीपुर, बाराको निजगढमा गरी ५५ जना अनाथ बालबालिकादेखि असाहय गरी ५०५ जनालाई पालनपोषण गर्दै आएको छ।

सात वर्षमा दुई हजार १०० सडक तथा बेवारिसे मानवको उद्धार गरी परिवारमा पुनर्मिलन गराइएको छभने सालनालसहित झाडीमा भेटिएका शिशुदेखि, बलात्कारको पीडामा परेकी किशोरी, अनाथ बालबालिका, छोराछोरी विदेश र स्वदशमै सम्पन्न भएर पनि सडकमा आश्रय लिन पुगेका आमाबाबुलाई समाजले आश्रय दिँदै आएको छ।

आश्रममै अन्तिम विश्राम लिएकाहरूको प्रहरी प्रक्रिया पूरा गरेर सुमी मावनलगायतको संस्थाले दाहसंस्कार गर्दै आएको छ। भारतको उत्तर प्रदेशस्थित बृन्दावनमा श्रीमद्भागवतको कोर्ष पूरा गरेर महायज्ञ वाचिका बनेर अनाथ असाहयहरूको सहारा बन्दै सुमी मानवको अभियानलाई महायज्ञमा आउनेहरूले साथ दिएका छन्।

प्रतिक्रिया