बुधबार, वैशाख २३, २०८३

छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ

मेरोन्यूज २०८१ चैत २६ गते ६:२९

काठमाडौँ । जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरी नक्कली साधु बनेका पर्साको विन्दवासिनी गाउँपालिका २ का ६२ वर्षीय लोकनाथ साह तेली १७ वर्षपछि पक्राउ परेका छन् ।

Advertisement
NiccNicc

छिमेकी ढोडा मुखिया बिनको बि.सं. २०६४ वैशाख २५ गते गोली प्रहारबाट हत्या गरी फरार भएका उनलाई भारतस्थित चम्पारण पिरियामा रहेको रामजानकी मन्दिरमा पूजारीको रूपमा १० वर्षदेखि साधुको भेष धारणा गरी लुकिछिपी रहेका थिए ।

हत्यापश्चात् फरार भएका निज लोकनाथलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २०६९ कात्तिक २४ गते सर्वस्वसहित जन्मकैद ठहर गरेको थियो । उनलाई नेपाल आएको मौका पारी केन्द्रीय अनुसन्धान ब्युरोका टोलीले सोमबार पर्साको वीरगन्जबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

निजलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत पर्सामा पेस गरिएको ब्युरोका प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए ।

तीनकुने घटनामा संलग्न थप दुई पक्राउ
यसैबीच, जिल्ला प्रहरी परिसर काठमाडौँले यही चैत १५ गते तीनकुने क्षेत्रमा अपराधिक गतिविधिमा संलग्न थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका-५ का ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–४ का ३० वर्षीय जितबहादुर श्रेष्ठ रहेका छन् ।

पक्राउ परेकालाई अपराधिक उपद्रव कसुर अन्तर्गत जिल्ला अदालत काठमाडौँबाट २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको काठमाडौँ परिसरका प्रहरी उपरीक्षक अपिल बोहराले जानकारी दिए ।

प्रतिक्रिया