रवि लामिछानेको गिरफ्तारी गैरकानुनी भएको रास्वपाको निष्कर्ष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको गिरफ्तारीलाई गैरकानुनी ठहर गरेको छ । बुधबार साँझ बनस्थलीस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार लामिछानेलाई चैत २२ गते पक्राउ गरिए पनि अदालतमा थुनुवा पुर्जी भने चैत २५ गते मात्र प्रस्तुत गरिएको थियो । यस्तो अवस्थामा २ दिन ३ रात हिरासतमा राखिएको अवधि अवैध भएको रास्वपाको दाबी छ ।
“प्रक्रियाअनुसार अदालतको अनुमति विना हिरासतमा राख्नु कानुनी उल्लंघन हो,“ बैठकपछि बुर्लाकोटीले भने, “लामिछानेको हिरासत अवधि स्वतः अवैध ठहर्छ।“
रास्वपाले सभापति लामिछानेको निवासमा प्रहरीले देखाएको व्यवहारलाई पनि आपत्तिजनक ठहर गरेको छ । “अदालतले प्रक्रिया सुरु नगर्दै प्रहरी आफैं सक्रिय भएर निवासमै पुगेर गरेको क्रियाकलाप झनै आपत्तिजनक छन्,“ उनले भने ।
रास्वपाले घटनाबारे विस्तृत अध्ययन गर्दै थप कानुनी र राजनीतिक कदम चाँडै सार्वजनिक गर्ने जनाएको छ ।
प्रतिक्रिया