‘नियमित मोही सेवन स्वस्थ र फूर्तिलो जिवन’ भन्ने नाराका साथ मनाइयाे राष्ट्रिय मोही दिवस

काठमाडौं । पशु सेवा विभाग तथा राष्ट्रिय दुग्ध विकास बोर्डको सहकार्यमा नेपाल डेरी एसोसिएसन एवं विभिन्न सरकारवाला संस्थाहरूको आयोजनामा राष्ट्रिय मोही दिवस एवं राष्ट्रिय मोही सेवन अभियान शुभारम्भ गरेको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रको प्रमुख अतिथ्यता एवं राष्ट्रिय विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवको बिशेष उपस्थिति, दुग्ध विकास संस्थान, केन्द्रीय सहकारी संघ लिमिटेड, उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्र, केन्द्रीय पशुपंक्षी मत्स्य सहकारी संघ लिमिटेड, नेपाल कृषि तथा पशुपन्छि व्यवसाय संघ, कृषि पत्रकारहरूको संस्था अनाज, रोटरी क्लब कपनका प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सिडिक्यानका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटा, केन्द्रीय मत्स्य सहकारी सङ्घका अध्यक्ष बाबुराम अधिकारी, नाल्बाका महासचिव श्रीकृष्ण भण्डारी, अनाजका अध्यक्ष किरण आचार्य, रोटरी क्लब अफ कपनका अध्यक्ष नियुक्ति शेर्पा, पूर्व अध्यक्ष मनोज कुमार घिमिरे, नेपाल डेरी एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडिया, राष्ट्रिय दूध विकास बोर्डका बोर्ड सदस्य रामभक्त दाहाल एवं डेरी उद्योगीहरू, पत्रकारहरु, किसानहरु एवं शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै सबै प्रतिनिधिहरूले मोही अभियान हामी सबैको साझा अभियान हो भन्दै स्वदेशी उत्पादन र स्वदेशी उत्पादनको प्रवर्द्धन गर्नु हामी सबैको कर्तव्य हो भन्ने कुरालाई विशेष जोड दिए । यो अभियान सुरु गरेकोमा नेपाल डेरी एसोसिएसनलाई सबै वक्ताहरुले विशेष धन्यवाद दिएका थिए।
कार्यक्रममा प्रमुख अतिथि सचिवले अध्यक्ष प्रल्लाद दाहाललाईले शुरु गरेको मोही अभियानको प्रसंशा गर्दै अध्यक्ष दाहाललाई खादा ओढाई मन्त्रालयको तर्फबाट सम्मान गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सचिवले यस्ता किसिमका अभियान अब देशैभरि शुरु गर्नुपर्ने र यो अभियान शुरु गरेकोमा एसोसिएसन परिवारलाई विशेष धन्यवाद दिए।
कार्यक्रममा बोल्दै बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादबले नेपाल डेरी एसोसिएसनले सधैं अलि फरक ढंगले कार्यक्रम गर्ने गरेको बताउँदै यस्ता किसिमका गतिविधिले दुग्ध क्षेत्रलाई सहयोग पुर्याउने कुरा बताए । वरिष्ठ उपाध्यक्ष सापकोटाले किसानको तर्फबाट पनि मोही अभियानता दाहाललाई विशेष धन्यवाद दिंदै राज्यले पनि सम्मान गर्नु पर्ने बताए ।
कार्यक्रममा धन्यवाद ज्ञापन नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरेले गरेका थिए । कार्यक्रम पछि खाजाको रुपमा भुटेको मकै , गुन्द्रुकको अचार, भट्मास र मोही खुवाइएको थियो भने सचीवले ठेकीमा मोही तुल्याई अनुभव लिइएका थिए ।
मोही अभियानमा सहयोग पुर्याउने विभिन्न महानुभावहरुलाई एसोसिएसनको तर्फबाट सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै नेपाल डेरी एसोसिएसनका अध्यक्ष, कृषि उद्यम केन्द्रका बोर्ड सदस्य एवं राष्ट्रिय मोही अभियानता प्रल्हाद दाहालले राष्ट्रिय मोही अभियानमा साथ सहयोग गर्नु हुने पत्रकारहरु एवं सबै डेरी उद्योगी मित्रहरुलाई धन्यवाद दिंदै मोही अभियान सफल भएकोमा खुशी ब्यक्त गरे ।
‘नेपाल डेरी एसोसिएसनले जहाँ जहिले पनि स्वदेशी उत्पादनको उपभोग बढाउने उदेश्यले आफ्ना गतिविधि गरिरहेको हुन्छ । आफ्ना कार्यक्रमहरु बालबालिका वा जेष्ठ नागरिकलाई दुध सेवन गराई समुद्घाटन गर्ने, मायाको चिनो स्वरुप दुग्ध पदार्थ वितरण गर्ने, आफ्ना कार्यक्रमहरुमा दुग्ध पदार्थ खुवाउने, अन्य पेय पदार्थको ठाउँमा मोही, लस्सि, दही, आइसक्रिम आदि राख्ने, सधैं दुध वा दुध चिया कफि खुवाउने अभियानमा निरन्तर काम गरिरहेको छ । जसले गर्दा केहि मात्रामा भए पनि दुध तथा दुग्ध पदार्थको स्वदेशी खपत बढेको छ’, दाहालले भने ।
नेपाल डेरी एसोसिएसनले दुई वर्ष अगाडिबाट विद्यालय, अस्पताल, आश्रम विभित्र सामाजिक संघ संस्थामा निःशुल्क मोही सेवन गराउँदै आइरहेको छ । यहि क्रममा काठमाडौंको दरबार मार्गमा रहेको रैथाने कृषि उपज बिक्री गर्ने स्थान ओरियन्ट क्याफेमा हरेक शनिवार बिहान ७ बजेदेखि ११ बजेसम्म परम्परागत रुपले ठेकीमा मोही तुल्याई निस्शुल्क बितरण गरिरहेको छ । हालसम्म ८५ हप्तामा २५ हजार लिटर मोही झण्डै २ लाख जनालाई निस्शुल्क सेवन गराइएको छ। सो मोही नेपाल डेरी एसोसिएसनले ब्यवस्थापन गर्दै आएको छ। हालसम्मको हिसाबमा नेपाल डेरी एसोसिएसनले २० लाख बराबरको निशुल्क मोही सेवन गराएको छ ।
यसको प्रभावले आम मानिसमा मोही प्रतिको मोह बढ्दै जान थाल्यो र हिजोका दिनमा मोही सेवन गर्न मन लाग्दा लुकेर सेवन गर्नु पर्दथ्यो भने आज यो अभियानले आम मानिसलाई शानसँग सार्बजनिक ठाउँमा बसि फोटो खिच्दै मोही सेवन गर्न सक्ने अवस्था सृजना भएको छ । देश भरमा दुई दर्जन जति डेरी उद्योगले मोहीलाई लेबलिङ र प्याकेजिङ गरि बजारमा ल्याएका छन् । सबैभन्दा पहिला उपत्यका बाहिर लेबलिङ र प्याकेजिङ गरि बजारमा सन्जिविनी ब्रान्डमा मोही उत्पादन कास्की लेखनाथमा रहेको बजगाईं डेरी उद्योगले गरेको थियो भने उपत्यकामा पाटन औद्योगिक क्षेत्रमा रहेको नवप्रभात डेरी उद्योगले ‘ प्रभात मोही’ भनि बजारमा ल्यायो ।
अहिले बजारमा लेबलिङ र प्याकेजिङ भएर करीब २५ हजार लिटर मोही दैनिक खपत हुन्छ भने झन्डै १ लाख लिटर मोही अनौपचारिक रुपमा देशभर खपत हुन्छ । दुग्ध क्षेत्र भित्र यो एउटा ठूलो क्षेत्र बन्ने सम्भावना रहेको छ । अब हामीले मोहीको प्रबर्द्धनमा निरन्तर लाग्न आवश्यक छ । मोहीको यसरी ब्यापक प्रचारप्रसार भई आज यो किसिमको अवस्था सृजना हुनुमा आम मिडिया कर्मीको ठूलो साथ र सहयोग रहेको छ ।
अब २०८१ सालबाट यहि चैत २८ गते नेपाल डेरी एसोसिएसन र सरोकारवाला सबैको आयोजनामा ‘नियमित मोही सेवन स्वस्थ र फूर्तिलो जिवन’ भन्ने नाराका साथ राष्ट्रिय मोही दिवस मनाइदैछ ।
यो मोही दिवस मनाइनाले मोहीको महत्व र यसबाट हुने फाइदाको बारे सबैलाई थाहा हुने र ठेकीमा मोही तुल्याउने कुरा हाम्रो मौलिक परम्परा हो र यसलाई बचाउँन सहयोग पुग्नुको साथै यसको महत्त्व बुझी स्वदेशी खपत पनि बढ्छ भन्ने नै प्रमुख उदेश्य हो । मोहीले गर्मी मौसम शुरु भएसँगै शरीरलाई चिसो राख्ने र ताजगी दिने गर्दछ ।

नेपाल डेरी एसोसिएसनले मोही अभियानलाई अझ व्यापक बनाउन विवाह, भोज, महोत्सव तथा व्यापारिक मेला जस्ता स्थानमा प्रचारप्रसारका लागि निशुल्क मोही वितरण गरिरहेको छ। यो अभियानले डेरी उद्योगलाई नयाँ उचाइमा पुर्याएको छ भने नेपालको मौलिक उत्पादनलाई प्रवर्द्धन गर्न पनि टेवा पुर्याएको छ। मोहीलाई यहाँसम्म पुर्याउन एसोसिएसनको ठूलो योगदान,साथ र सहयोग रहेको छ । अब डेरी उद्योगले थप नयाँ उचाईमा पुर्याउन यसको फाइदा, महत्त्व, र मौलिकता बुझी सबैलाई बुझाउन जरुरी छ।
मोही दहीबाट बनाइने एक पारम्परिक पेय पदार्थ हो। पहिलेदेखि नै नेपाली समाजमा दहीको उपयोग उच्च छ। जसलाई विभिन्न तरिकाले उपभोग गरिँदै आएको छ । मोही बनाउने परम्परागत विधिमा दहीलाई ठेकी वा मट्कोमा राखेर पानी मिसाएर घोटिन्छ। यसरी बनाइएका मोहीमा आवश्यकता अनुसार स्वादका लागि नुन, जिरा, अदुवा, वा अन्य मसला मिसाएर बनाइन्छ। तर, अहिले बजारमा प्याकेजिङ सहितका मोहीहरू पनि आउन थालेका छन्, जसले गर्दा आधुनिक जीवनशैलीमा पनि मोहीलाई सहजै अपनाउन सकिन्छ।
प्रतिक्रिया