सभामुख घिमिरे स्वदेश फिर्ता

काठमाडौँ । अन्तरव्यवस्थापिका संघको १५० औँ वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी भई सभामुख देवराज घिमिरे स्वदेश फिर्ता भएका छन्।
उज्वेकिस्तानको तास्केन्टमा सम्पन्न अन्तरव्यवस्थापिका संघको १५० औँ वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागि सभामुख घिमिरेसहितको नेपाली प्रतिनिधि मण्डल बिहीवार अपराह्न नेपाल आइपुगेको हो।
नेपाल अवतरण गर्दै सभामुख घिमिरेले उज्वेकिस्तान भ्रमण फलदायी दाबी गरे। उनले अन्तरव्यवस्थापिका संघको सभामा सामाजिक विकास र न्यायमा संसद्को पहलका विषयमा गम्भीर रुपमा छलफल भएको बताए।
उनले समसामयिक विश्व राजनीति, यसले पारिरहेको प्रभाव र सामाजिक असमानताका विषयमा विचार विमर्श भएको बताए।
सभालाई सम्बोधन गर्दै आफूले नेपालले भोगिरहेका समस्या र समावेशिताको अभ्यासबारे विश्व जगतलाई जानकारी गराएकोसमेत बताए। उनले अन्तरव्यवस्थापिका संघको वार्षिक सभाले मध्यपूर्वमा भइरहेको युद्धलाई शान्तिपूर्ण ढंगबाट समाधान गर्नुपर्ने निष्कर्ष निकालेको समेत उल्लेख गरे।
प्रतिक्रिया