बुधबार, वैशाख ३, २०८२

धार्मिक पर्यटकका लागि भक्तपुरको कलमसीमा आकर्षक गन्तव्य बन्नसक्छः उपप्रधानमन्त्री सिंह

मेरोन्यूज २०८२ वैशाख २ गते २१:१२

भक्तपुर। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नगरकोट नजिकको कलमसीमा धार्मिक पर्यटनका लागि आकर्षक गन्तव्य बन्नसक्ने बताएका छन्

आज चाँगुनारायण नगरपालिकाको कलमसीमा सुरु भएको शिवपुराण महायज्ञ उद्घाटन समारोहमा उनले कलमसीमा क्षेत्र धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्नसक्ने बताएका हुन्। उपप्रधानमन्त्री सिंहले हाल नगरकोट भ्रमण वर्ष प्रारम्भ भएको र महायज्ञले धार्मिक पर्यटनलाई प्रोत्साहित गर्न योगदान पुग्ने विश्वास व्यक्त गरे।

करिब सात वर्षअगाडि आफूले शिलान्यास गरेको स्थानमा भइरहेको महायज्ञमा सहभागी हुन पाउँदा खुसी व्यक्त गर्दै उनले लक्ष्यअनुसार काम सम्पन्न गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उपप्रधानमन्त्री सिंहले यहाँ बन्ने शिवजीको प्रतिमाले काठमाडौं आउने पर्यटकलाई समेत आकर्षित गर्ने धारणा राखे।

एक सय आठ फिट अग्लो शिवजीको प्रतिमा बनाउने लक्ष्यका साथ यहाँ शिवपुराण महायज्ञ सुरु भएको छ।

कार्यक्रममा चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले नगरकोटको काँखमा रहेको कल्पेश्वर महादेव मन्दिर परिसरमा भ्रमण वर्षको अवसर पारेर आयोजना गरिएको महायज्ञले यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने बताए।

कलमसीमा बन्ने एक सय आठ फिट अग्लो शिव मूर्ति निर्माणका लागि चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले रु एक लाख आठ हजार सहयोगको गरेका छन्। शिवको मूर्ति स्थापना भएपछि कलमसीमाको मात्रै नभएर चाँगुनारायण क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने भन्दै उपप्रमुख बुढाथोकीले उक्त रकम सहयोग गरेको बताए।

कार्यक्रममा चाँगुनारायण नगरपालिका–८ का वडाध्यक्ष जनक खत्रीले शिव तान्त्रिक र स्थानीयबाट विश्वकै पहिलो १०८ फिट अग्लो शिवको बसेको मूर्ति बनाउने काम सुरु भएको बताए। महायज्ञबाट मूर्ति बनाउन लाग्ने करिब रु दुई करोडको खर्च संकलन गर्ने लक्ष्य रहेको उनले जानकारी दिए।

प्रतिक्रिया