शुक्रबार, वैशाख १२, २०८२

प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक

मेरोन्यूज २०८२ वैशाख १२ गते १३:४१

गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफैँ जोखिम निम्त्याउन नहुने बताएका छन् ।

गोरखा भूकम्पको दश वर्ष पूरा भएको अवसरमा आज ललितपुर महानगरपालिकाद्वारा पाटन दरबार क्षेत्रमा आयोजित ‘ललितपुर मेट्रोपोलिटियन सिटी रेजिलियन्स फेयर’ कार्यक्रममा गृहमन्त्री लेखकले विगतमा भोगेको विपत् र त्यसले पुर्‍याएको जनधनको क्षतिको स्मरण गर्दै आगामी दिनमा भूकम्पलगायतका विपतबाट हुने जोखिम न्यूनीकरण गर्न ध्यानपूर्वक काम गर्नुपर्नेमा जोड दिए ।

‘हामीले निर्माण गरेका भौतिक संरचना बलिया हुन जरुरी छ, प्रकृतिलाई सुरक्षित राख्नुपर्छ । विपतमा खोज, उद्धार र राहत प्रतिकार्य गर्न आवश्यक छ, विगतका दुःख र पीडालाई सम्झेर भविष्यमा जोखिमबाट बच्च हरेक दिन तयारी गर्नुपर्छ,’ उनले भने ।

गृहमन्त्री लेखकले विपतपछिको पुनर्निर्माण, खोज, उद्धार र राहतका कार्यमा ललितपुर महानगरले अनुकरणीय काम गरेको छ भन्दै प्रशंसा गरे । ‘पुनर्निर्माणमा दातृ संस्थाबाट धेरै सहयोग प्राप्त गरेका छौँ, हामी जोखिमपूर्ण भू–भागमा छौँ, बाढीपहिरोको विषयमा पूर्वानुमान गर्न सकिन्छ, तर भूकम्पको पूर्वानुमान गर्न सकिँदैन, तसर्थ भूकम्प जतिसुकै वेला पनि आउन सक्छ भनेर तयारी गर्नुपर्छ,’ उनले भने। विपतमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको गृहमन्त्री लेखकको भनाइ थियो ।

प्रतिक्रिया