शनिबार, वैशाख १३, २०८२

नेपाल सुपर लिग : फाइनलमा आज ललितपुर र पोखरा भिड्दै

मेरोन्यूज २०८२ वैशाख १३ गते ९:३७

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको उपाधी भिडन्त आज हुँदैछ । 

आज साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच फाइनल खेल हुने भएको हो । दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछन् ।

विजेताले ट्रफिसहित ८० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । आयोजक नेपाल स्पोट्र्स एण्ड इन्भेट मेनेजमेन्टले फाइनलको अघिल्लो दिन पत्रकार सम्मेलन मार्फत विजेताको पुरस्कार राशी घोषणा गरेको हो । दोस्रो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ । 

विजेता र उपविजेता दुवै टोलीले पाउने रकममा गत वर्षको तुलनामा १० लाख रुपैयाँ बृद्धि गरिएको छ । दुवै टिमका प्रशिक्षक र कप्तानले फाइनलका लागि तयार रहेको र उपाधिका लागि खेल्ने बताएका छन् ।

ललितपुर सिटी साविक विजेता हो भने पोखरा थन्डर्स पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेको हो । झण्डै एक महिना चलेको लिगमा २४ खेलपछि ललितपुर र पोखरा उपाधि होडमा उभिएका हुन् । 

पहिलो क्वालिफायरमा ललितपुरले र दोस्रो क्वालिफायरमा पोखराले धनगढी एफसीलाई हराउँदै फाइनलमा एक अर्कासँगको भेट पक्का गरेका हुन् । 

प्रतिक्रिया