स्वतन्त्र प्रेसबिना लोकतन्त्रको कल्पना गर्न सकिँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रका निम्ति नेपाली पत्रकारहरूले आफ्नो जीवन र जीविकाको समेत परवाह नगरी काम गरेको बताएका छन्। नेपाल रिपब्लिक मिडियाले आज यहाँ आयोजना गरेको १६औँ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले जसरी लोकतन्त्रबिना स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिता सम्भव छैन त्यसरी नै स्वतन्त्र प्रेसबिना लोकतन्त्रको कल्पना गर्न नसकिने बताए ।
राष्ट्रपति पौडेलले पत्रकारिता क्षेत्रले मुलुकमा केही भएन भन्ने भाष्यलाई चिर्दै केही भइरहेको छ भन्ने बाटोमा डोहोर्याउन आवश्यक रहेको बताए । उनले भने,“पत्रकारिता क्षेत्रको काम भनेको केही भएन मात्र भन्ने होइन, केही भइरहेको छ भन्ने देखाइदिने पनि हो । यसरी काम गर्न सकिन्छ भनेर उदाहरण दिने पनि हो ।
यो कार्यक्रम त्यसैतर्फ केन्द्रित रहेकामा मलाई खुसी लागेको छ ।” राष्ट्रपति पौडेलले वर्तमान समयमा लोकप्रियतावाद हाबी भएको भन्दै प्रशंसा मात्र खोज्ने प्रवृत्ति बढ्यो भने सत्य थाहा नहुने धारणा राख्नुभयो । यसकारण सजग प्रेसले सदैव सही, सत्य सूचना प्रवाह गरेर लोकतन्त्रका नागरिकको आलोचनात्मक चेतलाई विस्तारित गर्न सक्ने उहाँको विश्वास थियो ।
– बिपी कोइरालाले आफू प्रधानमन्त्री भएका बेला तत्कालीन अवस्थामा पत्रकारलाई बोलाएर पत्रिका निकाल्न र सरकारको निरन्तर खबरदारी गर्न गरेको आग्रह स्मरण गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्रसँंग स्वतन्त्र प्रेसको यही अन्योन्याश्रित सम्बन्धका कारण बिपीले सो आग्रह गरेको बताए ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको योगदानलाई कसैले कम आँक्न नसक्ने उहाँको भनाइ थियो । राष्ट्रपति पौडेलले सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा उल्लेखनीय परिवर्तन आएको उल्लेख गर्दै प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र प्रसारणका अनेक माध्यम भित्रिएका कारण नागरिक पत्रकारिताको पक्ष पनि उत्तिकै सबल बनेको बताए ।
प्रविधिको दुरुपयोग गरेर भ्रम छर्ने, मिथ्या एवं संशयपूर्ण सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराबाट जोगाउनु जिम्मेवार आमसञ्चार माध्यमको दायित्व भएकामा उनले जोड दिए । कार्यक्रममा कैलालीकी वन संरक्षक अभियानकर्मी नन्दादेवी कुँवर, रुपन्देहीका शिक्षासेवी घनश्याम पाठक र महोत्तरीकी क्रिकेट खेलाडी पूजा महत्तोलाई नागरिक सम्मान २०८२ बाट सम्मानित गरिएको थियो ।
प्रतिक्रिया