मंगलबार, वैशाख १६, २०८२

कीर्तिपुर मात्रै होइन, जुनसुकै डाँडामा बसेर महिनाको २-३ लाख कमाउन सकिन्छ : गगन थापा

मेरोन्यूज २०८२ वैशाख १६ गते १७:२३

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै डाँडामा बसेर लाखौँ कमाउने सपना सम्भव भएको बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित विपन्न वर्गको उत्थान र विकाससम्बन्धी कांग्रेसको नीतिगत सुझाव प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूले कीर्तिपुरको डाँडामा बसेर महिनामा दुई–तीन लाख कमाउन सकिने कुरा गर्दा त्यसलाई रमाइलो बनाइएको उल्लेख गरे । कुनै पनि डाँडामा बसेर लाखौँ कमाउने विषय कल्पना र सपना रहेको बताउँदै त्यो सम्भव हुने आधार भएको जिकिर गरे ।

‘मैले कीर्तिपुरको डाँडा भनेपछि तपाईं सबैलाई त्यही प्रसंग याद आउँछ । एउटा डाँडामा बसेर दुई तीन लाख कमाउन सकिन्छ भनेर मैले भनेँ । कतिलाई रमाइलो कुरा भयो । तर त्यो ड्रिम हो । सम्भव छ । एउटा व्यक्तिलाई सीप र क्षमता दियो भने त्यो सम्भव छ । अब हामी नलेज इकोनोमीमा छिरेका छौँ । अहिले चाइनामा जन्मिएको एउटा केटाले डिपसिक बनाएर च्याट जिपीटीसँग कम्पिटीसन गर्छु भन्ने ठाउँमा पुगेको अवस्था छ,’ उनले भने ।

महामन्त्री थापाले ज्ञान अर्थतन्त्रमा लाखौँलाई नयाँ अवसर आउने बताउँदै विपन्न समुदायलाई उक्त अवसरबाट वञ्चित हुन नहुने उल्लेख गरे ।

प्रतिक्रिया