मंगलबार, फागुन २६, २०८२

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट आठ च्याङ्ग्रा मरे

मेरोन्यूज २०८२ वैशाख १७ गते १२:५६

मुस्ताङ । यहाँ हिउँ चितुवाको आक्रमणबाट दुई गोठका आठ च्याङ्ग्रा मरेका छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ धार्काजुङ गाउँमा गएको मध्यरातमा हिउँ चितुवाले स्थानीय च्याङ्ग्रा पालक किसानको खोरभित्र पसेर आठ च्याङ्ग्रा मारेको वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए।

Advertisement
nepal life insurencenepal life insurence

च्याङ्ग्रा पालक किसान ङातर गुरुङका ५० मध्ये चार खसी र एक माउ गरी पाँच च्याङ्ग्रा हिउँ चितुवाको आक्रमणबाट मरेका छन् । हिउँ चितुवा मध्यरातमा गाउँभित्रको ढुङ्गा र माटोले बनेको गोठको क्षेत्रभित्र पसेर च्याङ्ग्रा मारेर क्षति तुल्याएको च्याङ्ग्रा पालक गुरुङको भनाइ छ । हिउँ चितुवाको आक्रमणबाट च्याङ्ग्रा मर्दा रु दुई लाख २० हजार बराबरको नोक्सान भएको च्याङ्ग्रा उनले बताए।

यसैगरी सोही स्थानकै अर्को च्याङ्ग्रा पालक पेम्मा गुरुङ पनि च्याङ्ग्राको माउ र पाठासहित गरी तीन च्याङ्ग्रा हिउँ चितुवाको आक्रमण परी मरेका छन् । मध्यरातमा गोठको छतमाथि उक्लिएर गोठमा पसी ५२ च्याङ्ग्रामध्ये तीन हिउँ चितुवाले मारेको पशुपालक पेम्बाले बताए। उनका अनुसार अर्को एक पाठोसमेत हिउँ चितुवाको आक्रमणबाट घाइते भएको छ । हिउँ चितुवाको आक्रमणबाट च्याङ्ग्रा क्षति हुँदा रु ६५ हजार बढीको घाटा भएको पशुपालक पेम्बाले सुनाए ।

हिउँ चितुवाले मुस्ताङको धार्काजुङमा च्याङ्ग्रा मारेको सूचनापछि गाउँपालिकाका अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङ, वडाध्यक्ष गुरुङ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रतिनिधिसहित प्रहरी चौकी कागबेनीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

स्थानीय जनप्रतिनिधि, च्याङ्ग्रा पालक, स्थानीय, एक्याप र सुरक्षा निकायको रोहबरमा हिउँ चितुवाले मारेको क्षति मूल्याङ्कन तथा घटनास्थलको विवरणसहितको मुचुल्का उठाउने कार्य भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका कार्यक्रम व्यवस्थापक एवं हिउँ चितुवा विज्ञ डा मधु क्षेत्रीसमेतले घटनास्थलको अवलोकन गरेका थिए । हिउँ चितुवा विज्ञ डा क्षेत्रीले हिउँ चितुवा र मानवबीचको द्वन्द्व न्यूनिकरणका लागि आवश्यक अनुकुलनका उपाय अवलम्बन गर्न सरोकारवाला निकायले ध्यान दिनुपर्ने सुझाए ।

उनले आहाराको कमीले गर्दा पनि हिउँ चितुवा बस्ती नजिकको गोठमा पसेर च्याङ्ग्रा क्षति गर्ने गरेकाले च्याङ्ग्रा गोठ सुधार पहिलो आवश्यकता रहेको औँल्याए । उनले वन्यजन्तुको तथा हिउँ चितुवाको जोखिम न्यूनिकरण गराउन उच्चलेक र जंगलमा आहारा बढाउने गरी अनुसन्धान गर्नुपर्ने उल्लेख गरे ।

गाउँपालिका अध्यक्ष गुरुङले मुस्ताङमा मानव र हिउँ चितुवाबिचको द्वन्द्व बढ्दै जान थालेकोप्रति चिन्ता व्यक्त गरे । पालिका अध्यक्ष गुरुङले जलवायु परिवर्तनका कारण हिउँ चितुवाको आहारा नावर उच्चलेकबाट बेसी झर्न थालेको र त्यसलाई पछ्याउँदै गर्दा हिउँ चितुवाले पशु गोठमा क्षति पुर्‍याउने गरेको दाबी गरे।

उच्चलेकमा खानेपानीको स्रोत घट्ने र चरनक्षेत्रमा घाँस पलाउने कम हुँदा हिउँ चितुवाको आहारा नाउर बस्ती नजिक आउने गरेको अध्यक्ष गुरुङले जनाए । स्थानीय किसानको पशुधनको रक्षा गर्न सरोकारवाला कार्यालयले भरपर्दो पूर्वाधार निर्माणमा अनुदानका कार्यक्रम ल्याउन आवश्यक रहेको अध्यक्ष गुरुङले सुझाए ।

प्रतिक्रिया