नेपाल–भारत सीमामा सतर्कता अपनाउन सशस्त्रको सर्कुलर

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावलाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल नेपालले भारतसँगको सीमावर्ती क्षेत्रमा विशेष सतर्कता अपनाएको छ ।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार हालको क्षेत्रीय सुरक्षा परिस्थिति विश्लेषण गर्दै सीमामा रहेका सबै बाहिनीपतिलाई प्रधान कार्यालयबाट विशेष निर्देशन जारी गरिएको हो ।
साथै, भारतको सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा संयुक्त गस्ती, सूचना आदान–प्रदान र तालमेललाई अझ प्रभावकारी बनाइएको छ । बीओपी (सीमास्तम्भ सुरक्षा चौकी)हरूबाट २४ घण्टा गस्ती चलाइँदैछ ।
सीमा क्षेत्रमा आवतजावत गर्ने व्यक्तिहरूको परिचयपत्र चेकजाँच गरी अभिलेख राख्ने कार्य पनि भइरहेको छ । तथापि, परम्परादेखि चलिआएको सामान्य आवतजावतलाई सहज बनाउन सशस्त्र प्रहरी सचेत रहेको थापाले बताए ।
भारतले हालै जम्मु–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणको प्रतिशोधस्वरूप पाकिस्तान र पाकिस्तान–प्रशासित कश्मीरका ९ स्थानमा ‘अपरेशन सिन्दूर’ अन्तर्गत हवाई हमला गरेको छ । यही घटनाक्रमसँगै नेपालले पनि आफ्ना सीमा सुरक्षा रणनीतिमा सतर्कता बढाएको हो ।
प्रतिक्रिया