प्रहरीले तस्करलाई पछ्याउँदा ३ मोटरसाइकल ठोक्किए, एककाे अवस्था गम्भीर

रौतहट । रौतहटको कटहरिया नगरपालिका ४ स्थित लालबकैया नदीको पुल छेउमा सशस्त्र प्रहरीले किराना सामान बोकेको एकजना तस्करलाई पछ्याउँदै गर्दा ३ वटा मोटरसाइकल जुधेर ठूलो दुर्घटना भएको छ।
बुधवार अपरान्ह साढे तीनबजेको समय दुईवटा बोरामा किराना सामान बोकेका ग ४प ४०७३ नम्बरको मोटरसाइकल हेरेर पुलको पश्चिम तर्फ बसेको सशस्त्र प्रहरीको गस्ती टोलीले रोक्न खोजेको थियो।
तर सामान बोकेको मोटरसाइकल चालकले तुफान कुदाएर कटहरिया बजार तर्फ भागिरहेको थियो। सोही सामान बोकेको मोटरसाईकल रोक्न बा ८४ प ७३८३ को मोटरसाईकलमा दुईजना सशस्त्र प्रहरी चढेर पछ्याउँदै गर्दा नदीको पुल भन्दा करिब दुईसय मीटर पूर्वपटी बजारबाट किनमेल गरेर फर्किँदै गरेको भारतीय नम्बर विआर ३०० ७९३६ नम्बरको मोटरसाईकलसँग जुधेको प्रत्यक्षदर्शीले बताएका छन्।
तीनवटै मोटरसाइकल तीव्रगतिमा रहेको कारण ठूलो दुर्घटना भएको प्रत्यक्षदर्शी कटहरिया ४ का वडा सदस्य वैद्यनाथ दाशले बताए।
दुर्घटनामा परेर भारतीय नम्बर मोटरसाइकल चालक फतुवा विजयपुर ४ टेंग्राहाका ४० जिनिस साह र पछाडी बसेका ५० वर्षीय अनुठा यादवको टाउको लगायतको स्थानमा गम्भीर चोट लागेको वडा सदस्य दाशले जानकारी दिएका छन्।
दुर्घटना पछी गाउँ तिरबाट किनमेल गरी फर्किरहेका तथा किनमेल गर्न आउँदै गरेका मानिसहरूले दुवैजना सशस्त्र प्रहरी लाई निर्घात कुटपिट गरेका थिए। घटना लगत्तै ईलाका प्रहरी कार्यालय कटहरियाबाट गएका गस्ती टोलीमाथी पनी सामान्य हातपात भएको छ। आक्रोशित स्थानीयहरूले कटहरिया लालबकैया नदीको पुल भएर जानेबाटो समेत अवरोध गरेका छन्।
भारतीय नम्बर मोटरसाईकलमा सवार दुवैजना लाई कटहरियामा सामान्य उपचारपछि थप उपचारको लागि एम्बुलेन्समा बिरगंज रेफर गरिएको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।
त्यस्तै घाइते सशस्त्र प्रहरीको स्थानिय अस्पतालमा उपचार भइरहेको तथा घटना स्थलमा अहिले ब्यापक रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रतिक्रिया