आइतबार, वैशाख ६, २०८३

पोखरा स्पोर्टस् अवार्ड : अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित

मेरोन्यूज २०८२ वैशाख २६ गते २१:१३

कास्की। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज साँझ पोखरामा सम्पन्न नवौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’ मा वर्ष खेलाडीको उपाधि अरूणा शाही र विश्वास अधिकारीले जितेका छन्।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

वर्ष उत्कृष्ट खेलाडीका लागि मनोनयनमा परेका उत्कृष्ट तीनमध्ये महिलातर्फ नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान समेत रहेकी अरूणा शाही घोषित भएकी हुन्। यसँगै अरूणाले हालसम्म तीन पटक वर्ष उत्कृष्ट खेलाडी बन्न सफल भइन्।

यसैगरी पुरूषतर्फ भलिबलका विश्वास अधिकारी वर्ष खेलाडी बने। अवार्डका साथ उनीहरू दुबैले टेलजी इलेक्ट्रिक स्कुटर पुरस्कार पाएका छन्।

वर्ष खेलाडी महिला विधामा आइटिएफ तेक्वान्दोरमुआथाईकी सुस्मिता थापा मगर र फेन्सिङकी कृपा गुरूङ समेत मनोनयनमा परेका थिए। पुरूषतर्फ टेनिसका प्रदीप खड्का र फुटबलका सुमित श्रेष्ठ थिए।

उदीयमान खेलाडीतर्फ क्रिकेटकी रचना चौधरीले अवार्ड प्राप्त गरिन्। सो विधामा भलिबलका जितबहादुर सार्की र एथ्लेटिक्सका बादल कार्की समेत उपाधि होडमा थिए। टेनिसका निरज थापा र भलिबलका रमेश केसीलाई पछि पार्दै उत्कृष्ट प्रशिक्षक फुटबलका राजेन्द्र तामाङ बने।

उत्कृष्ट खेल संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त गर्‍यो भने वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड विजय नेपालले पाए। उत्कृष्ट बन्न सफल सबैले अवार्डसहित नगद रू ३५ हजार पुरस्कार प्राप्त गरे।

मञ्चले ‘लाइफटाइम अचिभेमन्ट अवार्ड’ बाट सुटीङकी प्रशिक्षक भगवती खत्री केसीलाई सम्मान गरेको छ। उनलाई चाँदीको करूवासहित अवार्ड प्रदान गरिएको हो।

अवार्ड विजेता खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा खेलकुदमन्त्री विन्दुकुमार थापा, पोखरा महानगर प्रमुख धनराज आचार्य, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्य लगायतले पुरस्कार प्रदान गरे।

खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले विसं २०७२ देखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रूपमा स्थापित छ।

प्रतिक्रिया