मंगलबार, जेठ ६, २०८२

छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई

मेरोन्यूज २०८२ जेठ ६ गते १५:२०

काठमाडौँ । परराष्ट्र सचिव अमृतबहादुर राईले नेपाल र चीनबीच सदियौँदेखि रहिआएको गहिरो मित्रवत् सम्बन्ध पछिल्लो समय जनस्तरमा समेत प्रगाढ हुँदै गएको बताएका छन् ।

नीति अनुसन्धान प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘नेपाल–चीनबीचको सम्बन्ध र सम्भावनाको समीक्षा’  विषय गोष्ठीको उद्घाटन सत्रमा उनले चीन नेपालको विश्वासिलो र भरपर्दो छिमेकी मित्र भएको स्पष्ट पारे ।  उनले भने, “नेपाल–चीन आर्थिक, सामाजिक, सांस्कृतिक एवं परम्परागत सम्बन्ध रहिआएको घनिष्ठ मित्रराष्ट्र हुन् । हामीले एक अर्काको चासो र सवेदनशीलतालाई बुझ्नुपर्छ, नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ, नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने नेपालको स्पष्ट नीति रहिआएको छ ।”

नेपाल र चीनले एक अर्काका आकाङ्क्षालाई सम्मान गर्दै आएको स्मरण गर्दै उनले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डता एवं राजनीतिक स्वतन्त्रताप्रति चीनले लिँदै आएको नीतिप्रति आभार व्यक्त गरे । सचिव राईले भने, “हामी नेपाली जनता चीनको सहयोगप्रति आभारी छौँ, नेपालका लागि चीन आर्थिक सहभायताको सबैभन्दा ठूलो देश मात्र नभई दोस्रो ठूलो व्यापार साझेदार मुलुक हो ।”

सचिव राईले मित्रराष्ट्रको समृद्धिका लागि चीनका लागि राष्ट्रपति सी चिनफिङ्ले अगाडि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)मार्फत दुई देशबीचको सम्बन्ध बहुआयामिक तहमा विस्तार हुँदै गएको बताए । उनले बिआरआइमार्फ अगाडि बढेका आयोजनाले नेपालको आर्थिक विकास र रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

नेपालस्थित चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सिनले विगत ७० वर्षदेखि नेपाल र चीनबीच रहिआएको कूटनीतिक सम्बन्ध जनतस्तरसम्म पुगेको र यसले दुवै देशको चासोलाई सम्बोधन गर्दै आएको बताए।

उनले भने, “विभिन्न समयमा हुँदै आएको उच्चस्तरीय राजनीतिक भ्रमणले दुई देशबीचको सम्बन्ध घनिष्ठ तुल्याउन योगदान पुगेको छ, सन् २०१९ मा चीनका राष्ट्रपति सी चिनफिङले गरेको नेपाल भ्रमण र प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो चीन भ्रमणले आपसी सम्बन्धलाई अझै उचाइमा पुर्‍याएको छ ।”

नेपालको पूर्वाधार, स्वच्छ ऊर्जा, पावर ग्रिडजस्ता आयोजनामा चीनले नेपाललाई सहयोग गर्दै आएको र बिआरआइमार्फत नयाँ आयोजना अगाडि बढेको उल्लेख गर्दै उनले आगामी दिनमा द्विपक्षीय सहयोग र सहकार्य थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे। चीनले नेपाललाई सधैँ समान र सहअस्तित्वको भावनाबाट सम्मान गर्दै आएको स्पष्ट पार्दै उपप्रमुख वाङले एकअर्काको आपसी चासोलाई दुवै देशले अन्तरमनबाट सहयोग गरिरहेको बताए।

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्षको उत्सव मनाइएका बेला दुवै देशका सरकारी ‘थिंक ट्यांक’ ले आयोजना गरेको ऐतिहासिक गोष्ठी हो ।

नेसनल इन्स्टिच्युट अफ इन्टरनेसनल स्टाटेजी अफ दि चाइनिज अकाडमी अफ सोसल साइन्स (निस)ले पहलमा भएको यस गोष्ठीले औपचारिक सहकार्यको जग बसाल्ने आयोजकको अपेक्षा छ ।

प्रतिक्रिया