सामाजिक र आर्थिक समृद्धिको अगुवाइ माओवादीले गर्छः अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनपछि सामाजिक र आर्थिक समृद्धिको अगुवाइ माओवादीले गर्ने बताएका छन्। ‘जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’को क्रममा आज पर्वत सदरमुकाम कुश्मामा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनमा माओवादीले कसैको सहारा नलिने बताए । अबको निर्वाचनमा माओवादी आफ्नै तागतले उभिने उनको भनाइ छ ।
हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गको जनजागरण अभियानमा देखिएको जनताको उत्साहले आफू पनि उत्साहित भएको उनले बताए । अध्यक्ष दाहालले भने, “माओवादी नेतृत्वमा आए सुशासन कायम हुन्छ र भ्रष्टाचारको अन्त्य हुन्छ भन्नेहरु धेरै भेटेका छौँ । हामी अहिले जनतासँग साक्षात्कार गरिरहेका छौँ, पार्टीलाई मजबुत बनाउँदै कार्यकर्तालाई एकत्रित गरिरहेका छौँ ।”
समाजवादी मोर्चाले सरकारलाई सच्चिन र मुलुकको हितमा काम गर्न खबरदारी गर्दै आएको उनले उल्लेख गरे । जनसंवादमा जिल्लास्थित पत्रकार, उद्योगी व्यवसायी, शिक्षक, स्वास्थ्य तथा सामाजिक सङ्घसंस्थाका प्रमुखहरुले विभिन्न जिज्ञासाहरु राखेका थिए । सो अवसरमा सहिद तथा बेपत्ताका परिवारलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया