कर्मचारीलाई तीनदिनभित्र काम सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय र मातहतका निकायमा हुने काम तीनदिनभित्र सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
मन्त्रालय र मातहतका कर्मचारीको आज बसेको बैठकमा उनले काम ढिलाइ नगरी प्रभावकारी कार्यसम्पादनमा लाग्न सबैलाई निर्देशन दिएका हुन् ।
“मन्त्रालय र अन्तर्गतका निकायमा फाइल रोकिने, काममा ढिलाइ हुने गरेको गुनासो आएका छन् । कुनै पनि फाइल रोकिएर नागरिकले समस्या भोग्नु भएन, तीन दिनभित्र कुनैपनि फाइलको छिनोफानो हुनेगरी काम गर्नुहोस्”, मन्त्री खड्काले भने।
उनले मन्त्रालयअन्तर्गतका निकायबाट उल्ललेख्य प्रगति हुन नसकेकामा चिन्ता व्यक्त गर्दै काममा ढिलाइ गर्ने, नागरिकलाई दुःख दिने गरेको पाइएमा कारबाही गरिने उल्लेख गरे ।
कर्मचारीलाई पुरस्कार र दण्डको व्यवस्था गरेमात्र हामीले लिएका लक्ष्य हासिल गर्न सहज हुने मन्त्रीको भनाइ छ । “कर्मचारीलाई स्थायी सरकार भन्छौँ, काम स्थायी देखिँदैन, आफूले पाएको जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गरौँ”, उनले भने । ऊर्जामन्त्री खड्काले मनसुन सुरु हुन लागेको भन्दै वर्षाबाट हुने जोखिम न्यूनीकरणका लागि सूचना प्रवाहलाई जनस्तरसम्म पुर्याउन जल तथा मौसम विज्ञान विभागलाई निर्देशन दिए ।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा, ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बराल, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, मन्त्रालयका सहसचिवलगायत मातहत निकायका कर्मचारीको सहभागिता थियो । बैठकमा मन्त्रालय र मन्त्रालय मातहतका निकायको वैशाख मसान्तसम्म भएको भौतिक तथा वित्तीय प्रगति विवरणसमेत प्रस्तुत गरिएको थियो ।















यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया