राजस्व लक्ष्य सहजै पूरा गर्न सकिन्छ : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको बजेट निर्माणका क्रममा आधारभूत सिद्धान्त, मूल्यमान्यता र सीमालाई अनुसरण गरिएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)द्वारा आज आयोजित बजेटपछिको छलफलमा उनले मेहिनतका साथ काम गरे राजस्व लक्ष्य पनि सहजै पूरा गर्न सकिने गरी निर्धारण गरिएको स्पष्ट पारे । अर्थमन्त्री पौडेलले भने, “कहाँबाट आम्दानी हुन्छ, कति हुन्छ, त्यसको कहाँ र कसरी खर्च हुन्छ भन्ने सबै स्पष्ट छ । आन्तरिक ऋण पनि राष्ट्रिय वित्त आयोगले दिएको सुझावभित्र रहेर प्रक्षेपण गरिएको छ ।”
अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त हुनसक्ने सहयोग सीमाको पाटोलाई पनि हेक्का राखेर बजेट निर्माण गरिएको बताउँदै उनले स्रोत अनुमान ठिकै रहेको प्रतिक्रिया पाएकाले त्यसलाई प्रभावकारी परिचालनबाट पूरा गर्न सकिने दाबी गरे । उपप्रधानमन्त्री पौडेलले भने, “बजेट प्रभावकारी कार्यान्वयनबाट आर्थिक वृद्धिदरलाई प्राप्त गर्न सकिन्छ । बजेटलाई सहकारी क्षेत्रको महत्वलाई बुझेर समस्या समाधानमा केन्द्रित गरिएको छ । युवालाई नवप्रवर्तनका माध्यमबाट अघि बढाउन स्पष्ट र सशक्त पहल गरिएको छ । अब पूर्वाधार निर्माण समयमै पूरा गर्न र गुणस्तर कायम गराउन विशेष ध्यान दिइने छ ।”
पूर्वअर्थमन्त्री जनार्दन शर्माले विगतको निरन्तरताका रूपमा ल्याइएको बजेटले अर्थतन्त्र सुधार र नागरिकको जीवनमा समृद्धि दिलाउन नसक्ने जिकिर गरे । उनले भने, “नीतिगत र स्रोत व्यवस्थापनका हिसाबले विगतको निरन्तरतामा बजेट आएको छ । आर्थिक वृद्धिदर बढाउने कार्यक्रम देखिएको छैन । स्रोतको ठूलो दबाबमा बजेट छ । बजेटमा उल्लेख गरेको वैदेशिक लगानी र सहयोग कसरी जुट्छ ? किसान र हाम्रा स्रोतसाधन जोड्ने कार्यक्रम बजेटमा कहाँ छ ?”
आर्थिक क्षेत्रको महत्त्वपूर्ण निजी क्षेत्र उत्साहित हुनु आफैँमा सकारात्मक रहेको बताउँदै पूर्वअर्थमन्त्री शर्माले युवा र श्रम परिचालनको विषय नबोलिएकाले युवा आकर्षण र रोजगारी दिने विषय बजेटमा नपरेको दाबी गरे। “सत्तामा होइन, आर्थिक विकास र समृद्धिका एजेण्डामा राष्ट्रिय सहमति जुटाउनु पर्नेछ । मुलुकलाई विकास र समृद्धिमा लैजान समग्रतामा पुन:संरचनाको खाँचो छ”, उनले भने ।
प्रतिक्रिया