मंगलबार, फागुन २६, २०८२

राजस्व लक्ष्य सहजै पूरा गर्न सकिन्छ : अर्थमन्त्री पौडेल

मेरोन्यूज २०८२ जेठ १७ गते १५:५३

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको बजेट निर्माणका क्रममा आधारभूत सिद्धान्त, मूल्यमान्यता र सीमालाई अनुसरण गरिएको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)द्वारा आज आयोजित बजेटपछिको छलफलमा उनले  मेहिनतका साथ काम गरे राजस्व लक्ष्य पनि सहजै  पूरा गर्न सकिने गरी निर्धारण गरिएको स्पष्ट पारे । अर्थमन्त्री पौडेलले भने, “कहाँबाट आम्दानी हुन्छ, कति हुन्छ, त्यसको कहाँ र कसरी खर्च हुन्छ भन्ने सबै स्पष्ट छ । आन्तरिक ऋण पनि राष्ट्रिय वित्त आयोगले दिएको सुझावभित्र रहेर प्रक्षेपण गरिएको छ ।”

अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त हुनसक्ने सहयोग सीमाको पाटोलाई पनि हेक्का राखेर बजेट निर्माण गरिएको बताउँदै उनले स्रोत अनुमान ठिकै रहेको प्रतिक्रिया पाएकाले त्यसलाई प्रभावकारी परिचालनबाट पूरा गर्न सकिने दाबी गरे । उपप्रधानमन्त्री पौडेलले भने, “बजेट प्रभावकारी कार्यान्वयनबाट आर्थिक वृद्धिदरलाई प्राप्त गर्न सकिन्छ । बजेटलाई सहकारी क्षेत्रको महत्वलाई बुझेर समस्या समाधानमा केन्द्रित गरिएको छ । युवालाई नवप्रवर्तनका माध्यमबाट अघि बढाउन स्पष्ट र सशक्त पहल गरिएको छ । अब पूर्वाधार निर्माण समयमै पूरा गर्न र गुणस्तर कायम गराउन विशेष ध्यान दिइने छ ।”

पूर्वअर्थमन्त्री जनार्दन शर्माले विगतको निरन्तरताका रूपमा ल्याइएको बजेटले अर्थतन्त्र सुधार र नागरिकको जीवनमा समृद्धि दिलाउन नसक्ने जिकिर गरे । उनले भने, “नीतिगत र स्रोत व्यवस्थापनका हिसाबले विगतको निरन्तरतामा बजेट आएको छ । आर्थिक वृद्धिदर बढाउने कार्यक्रम देखिएको छैन । स्रोतको ठूलो दबाबमा बजेट छ । बजेटमा उल्लेख गरेको वैदेशिक लगानी र सहयोग कसरी जुट्छ ? किसान र हाम्रा स्रोतसाधन जोड्ने कार्यक्रम बजेटमा कहाँ छ ?”

आर्थिक क्षेत्रको महत्त्वपूर्ण निजी क्षेत्र उत्साहित हुनु आफैँमा सकारात्मक रहेको बताउँदै पूर्वअर्थमन्त्री शर्माले युवा र श्रम परिचालनको विषय नबोलिएकाले युवा आकर्षण र रोजगारी दिने विषय बजेटमा नपरेको दाबी गरे। “सत्तामा होइन, आर्थिक विकास र समृद्धिका एजेण्डामा राष्ट्रिय सहमति जुटाउनु पर्नेछ । मुलुकलाई विकास र समृद्धिमा लैजान समग्रतामा पुन:संरचनाको खाँचो छ”, उनले भने । 

प्रतिक्रिया