गाजाको मानवीय अवस्था युद्ध सुरु भएदेखि अहिलेसम्मकै गम्भीर : संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको मानवीय सहायता समन्वय कार्यालयले शुक्रबार गाजाको अवस्थालाई अत्यन्तै गम्भीर बताएको छ । निरन्तर बम आक्रमण, कुपोषण, ठूलो सङ्ख्यामा जनताको विस्थापन र सार्वजनिक सुरक्षाको अभावका कारण अहिलेको परिस्थिति अति सङ्कटपूर्ण भएको बताइएको छ । उक्त कार्यालयका अनुसार चार दिनपछि पहिलो पटक संयुक्त राष्ट्रसङ्घ तथा यसका साझेदार संस्थाहरूले पठाएको पाँचवटा राहत सामग्री बोकेका सवारीसाधन गाजामा प्रवेश गर्न सफल भए । तर केरम शालोम भनिने नाका आसपास द्वन्द्वका कारण अन्य ६० वटा सवारीसाधनलाई सामग्री लिएर फर्कनु प¥यो । संयुक्त राष्ट्र महासचिवका प्रवक्ताका अनुसार नाकाको वरपर विशेषगरी ‘नो म्यान्स ल्यान्ड’ भन्ने क्षेत्रमा हतियारधारी समूहहरूको गतिविधि बढ्दो रहेको छ, जसले गर्दा अवस्था अझ जटिल बनेको छ ।
ती पाँच सवारीसाधनले ल्याएका औषधिजन्य सामग्रीहरू डेइर अल–बलाहको एक अस्पतालका लागि थिए, तर दुःखद रूपमा तीमध्ये धेरै सामग्री लुटिएको जनाइएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार, झण्डै ८० दिनदेखि आपूर्ति पूर्णरूपमा बन्द गरिएकोले गाजामा जनताको आवश्यकता निकै बढेको छ । हाल सीमित मात्रामा गाजामा प्रवेश गरिरहेको सामग्री अत्यन्तै न्यून छ, जसले करिब २१ लाख जनताको आधारभूत आवश्यकता पूरा गर्न सक्दैन । संयुक्त राष्ट्र र यसका साझेदार संस्थाहरूले विभिन्न कठिनाइका बाबजुद गाजामा रहेका जनतालाई आवश्यक सहयोग पु¥याउने प्रयास गरिरहेका छन् । तथापि, गाजा भित्र लगिने सामग्रीको मात्रा र प्रकारमा लगाइएको प्रतिबन्धका कारण यो कार्य अझ कठिन भइरहेको छ ।
स्वास्थ्य सेवा र आम नागरिक सङ्कटमा
गाजाको अन्तिम आंशिक रूपमा सञ्चालनमा रहेको ‘अल–आवदा’ नामक अस्पताललाई पटक–पटक आक्रमण भएपछि बिहीबार खाली गरिनुपरेको बताइएको छ । त्यस्तै, दक्षिण गाजाको डेइर अल–बलाह, अल–बुरेइज र अन–नुसेरात क्षेत्रमा पनि आक्रमण जारी रहेको छ । युद्धका कारण एउटा पत्रकारको घरमा भएको आक्रमणमा उनका नौ जना परिवारका सदस्यको मृत्यु भएको र अन्य १५ जना घाइते भएको बताइएको छ । साथै, एक अन्तर्राष्ट्रिय सहायता संस्थामा कार्यरत पाँच जना कर्मचारी मारिएका छन् भने दुई जना घाइते भएका छन्। मानवीय कार्यालयले आम नागरिक र सहायता कर्मीहरूको सुरक्षाको सुनिश्चितता हुनु आवश्यक रहेकोमा जोड दिएको छ ।
विस्थापन, खाद्यान्न अभाव र लुटपाटको समस्या
गाजामा पछिल्ला दुई सातामा झण्डै दुई लाख नागरिकहरू पुनः विस्थापित भएका छन् । इजरायली प्रशासनले हालै करिब ३० प्रतिशत क्षेत्रलाई खाली गर्न निर्देशन दिएको बताइएको छ । यद्यपि, धेरै मानिसहरू खाद्यान्न र अन्य अत्यावश्यक वस्तुको खोजीमा स्थान परिवर्तन गरिरहेका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार, केही क्षेत्रहरूमा राहतका रूपमा आपत्कालीन बासस्थल निर्माण सामग्री वितरण गरिएको छ ।
तर सार्वजनिक सुरक्षा कमजोर बन्दै गएको र लुटपाटका घटनाहरू बढेको पाइएको छ । डेइर अल–बलाहस्थित एउटा अस्पतालमा केही सशस्त्र समूहले प्रवेश गरी बालबालिकाको पोषणका लागि राखिएको औषधि र उपकरणहरू लुटेका छन्। संयुक्त राष्ट्रसङ्घले इजरायललाई गाजामा सार्वजनिक सुरक्षाको सुनिश्चितता गर्ने जिम्मेवारी वहन गर्न आग्रह गर्दै शान्तिपूर्ण र कानूनी तरिकाले अपराध रोक्न आवश्यक रहेको जनाएको छ। साथसाथै, पर्याप्त राहत सामग्री, खाद्यान्न तथा आवश्यक वस्तुहरू गाजामा पु¥याउन नाकाहरू खोल्न आवश्यक भएको जनाएको छ।
पश्चिम किनारमा पनि हिंसा र निषेध
पश्चिम किनारमा इजरायली बसोबासकर्ताहरूको हिंसा बढ्दै गएको संयुक्त राष्ट्रसंघले जनाएको छ । पछिल्ला केही महिनामा करिब २२० जना भन्दा बढी स्थानीय बासिन्दाहरू घाइते भएका छन् । साथै, एक समुदायलाई चौथो पटक वस्ती हटाउन बाध्य बनाइएको छ ।
सल्फित क्षेत्रमा इजरायली सुरक्षाकर्मीहरूले लगाएको आवागमन नियन्त्रणका कारण करिब ९० हजार मानिसहरूलाई स्वास्थ्य, शिक्षा र जीविकोपार्जनमा गम्भीर असर परेको जनाइएको छ । त्यस क्षेत्रका बासिन्दाहरूलाई लामो बाटो हिँड्नुपर्ने, यात्रा खर्च बढेको, र दैनिक जीवनमा कठिनाइ भएको जनाइएको छ । संयुक्त राष्ट्रसंघले आम नागरिकका आधारभूत आवश्यकताहरू सुरक्षित र अवरोधरहित रूपमा उपलब्ध गराउन सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिएको छ ।










आजदेखि बाघ गणना हुँदै
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
काँग्रेसद्वारा प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
प्रतिक्रिया