सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा कोभिड परीक्षण गर्ने किट अभाव भएको छ । गौरीफन्टा र गड्डाचौकि नाकामा भारतबाट नेपाल फर्किनेहरुमा कोभिड सङ्क्रमण देखिन थाले पनि परीक्षण गर्ने किट अभाव हुदाँ थप परीक्षण हुन सकेको छैन ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव हुँदा नाकामा परीक्षण हुन नसकेको जानकारी दिए। ‘बुधवार कैलालीको गौरीफन्टा नाकामा भारतबाट आएका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ’, जोशीले भने, ‘थप परीक्षणका लागि किट अभाव छ, हामीले सङ्घ र प्रदेश सरकारसँग माग गरेका छौं।’
बुधबार गौरीफन्टा नाकामा भारतबाट आएका ३६ जनामा कोभिड परीक्षण गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भएको थियो । निर्देशनालयका अनुसार कोभिड पुष्टि हुनेमा कञ्चनपुरको पुनर्वासका २० वर्षका युवक, अछामको ढकारीका ३२ वर्षीय युवक र कैलालीको धनगढीकी २४ वर्षीया युवती रहेका छन् ।कोभिडको परीक्षणका लागि किट नहुँदा अन्य नाकामा परीक्षण हुन सकेको छैन ।
कोभिड पुष्टि भएका सबैको पिसीआर परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको उनले बताए । ‘कोभिड पुष्टि भएका तीनै जनाको ‘स्याम्पल’ टेकु पठाएका छौं, त्यहाँ पिसीआर परीक्षणपछि कोभिडको कुन भेरियन्ट रहेछ भन्ने पत्ता लाग्छ’, जोशीले भने, ‘छिमेकि मुलुक भारतमा सङ्क्रमण बढिरहेको छ, खुला सिमानाकाका कारण सुदूरपश्चिममा पनि सङ्क्रमणको जोखिम बढेको छ।’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले सङ्क्रमणको महामारी निम्तनसक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै मातहातका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ । तर, नाकामा परीक्षणका लागि किट नहुँदा परीक्षण हुन नसकेको स्वास्थ्य कार्यालयको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशीले कोभिड परीक्षणका लागि किट अभाव रहेको जानकारी दिए ।
‘गड्डाचौकी नाकाबाट नेपाल आउनेको सङ्ख्या बढेको छ, नाकामा रहेको रहेको हेल्थ डेस्कबाटसमेत कोभिड परीक्षणको किट माग भएको छ’, उनले भने, ‘हामीसँग किट छैन, हामीले माथिल्लो निकायमा माग गरेका छौं।’ कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी भारतसँग जोडिएका प्रमुख नाका हुन् ।
नाकामा हेल्थ डेस्क रहेको भए पनि कोभिड परीक्षणका लागि किट नहुँदा परिक्षण हुन सकेको छैन । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल कोभिडको लक्षण देखिएका बिरामी आउने गरे पनि परीक्षण किट अभाव हुँदा परीक्षण हुन नसकेको अस्पतालका सूचना अधिकारी शान्तप्रसाद जोशीले जानकारी दिए ।
















दुई फर्मलाई विभागद्वारा जरिवाना
डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ
ट्रम्पको जमिनमा एक व्यक्तिको जबरजस्ती प्रवेश, सुरक्षाकर्मीले हाने गोली
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
प्रतिक्रिया