ग्लोबल आईएमई बैंकद्वारा ईभी चार्जिङ स्टेसन सञ्चालन

काठमाडौं । ग्लोबल आईएमई बैंकले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारीसाधन (ईभी) चार्ज गर्न चार्जिङ स्टेसन स्थापना गरेको छ । बैंकको आफ्नो कर्पोरेट कार्यालय कमलादीमा उक्त चार्जिङ स्टेसन स्थापना गरेको हो ।
उक्त चार्जिङ स्टेसनको बिहीबार बैंकका सञ्चालक कृष्णप्रसाद शर्मा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
गाडी चार्ज प्रालिसँगको सहकार्यमा बैंकले स्थापना गरेको सीसीटु सिंगल गनको ४० किलोवाट क्षमता रहेको छ । उक्त चार्जिङ स्टेसनमा बैंकमा सेवाका लागि आउने ग्राहक र बैंकका कर्मचारीहरूलाई आफ्नो ईभी गाडी चार्ज गर्न व्यवस्था गरिएको छ । पछिल्लो समय विद्युतीय सवारीसाधनका प्रयोगकर्ता बढेसँगै बैंकमा आउने ग्राहकहरूका सवारीसाधनलाई लक्षित गरी बैंकले चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो ।
सो अवसरमा बैंकका सञ्चालक शर्माले बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गरी वातावरणअनुकूल ईभी सवारीसाधनको प्रवर्द्धनको एक पहलको रूपमा यस चार्जिङ स्टेसन स्थापना गरिएको जानकारी दिए । साथै, बैंकले आफ्नो व्यवसाय विस्तारसँगै वातावरणमैत्री उपायहरू अवलम्बन गरिरहेको समेत उल्लेख गरे ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्लोबल आईएमई बैंक वातावरण संरक्षण र उत्तरदायी बैंकप्रति प्रतिबद्ध रहेको बताए । उनले ग्लोबल आईएमई बैंकले आफ्नो १८औँ वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा १८ हजार बिरुवा रोपण गरिरहेको बताउँदै बैंकले वातावरणमैत्री प्रोडक्टहरू ल्याएर वातावरण संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणमा काम गरिरहेको बताए । उनले ग्लोबल आईएमई बैंकले सञ्चालन गरेको ईभी चार्जिङ स्टेसन अन्य बैंक तथा वित्तीय संस्थाहरूले समेत अवलम्बन गर्ने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा बैंकका उच्चपदस्थ कर्मचारी र गाडी चार्ज प्रालिको प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सेलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजीक्षेत्रको वाणिज्य बैंक हो । यस बैंकका ३५४ शाखा कार्यालय, ३८५ एटीएम, २०२ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया