शनिबार, जेठ २४, २०८२

बुबाले सपना देखे, छोरीले पूरा गरिन्

टिकाराम सुनार/रासस २०८२ जेठ २३ गते १५:०३

सन्तराम हरिजनका खल्ती रित्ता भए पनि सपना कहिल्यै रित्तिएनन् । अभाव थियो तर अत्यास थिएन । उल्झन थिए तर अल्झिने फुर्सद थिएन । अपमान थियो, तिरस्कार थियो । जात व्यवस्थाले समाजको पत्रपत्रमा गाँजिएका विभेदका व्यथा त झनै निर्मम, तर सन्तराम गुनासो गरेर बसेनन् । समस्यासँग हारेनन्, अभाव देखाएर भागेनन् ।

समस्याले थिचि नै रह्यो तर सपनाले निदाउन दिएन । जिम्मेवारीले थाक्न दिएन । सायद सन्तानले पनि बाउभित्रको त्यो ‘जुनुन्’ देखेँ । बाबुआमाको मुहारमा ‘हाँसो’ नदेखे पनि आँतभित्रको ‘आँट’ देखेँ । त्यसैले त आज ‘ढुङ्गाको काप फोरेर पनि निस्किन्छ पीपल, सिर्जना शक्ति संसारमा हुँदैन कहिल्यै विफल’ भन्ने राष्ट्रकवि माधवप्रसाद घिमिरेको कवितांश यथार्थमा परिणत भएको छ । उनकी एउटा छोरी सम्भवतः नेपालमा चमार समुदायबाट चिकित्सा शिक्षामा स्नातक (एमबीबीएस) गर्ने पहिलो महिला बनेकी छिन् ।

अरु दुई सन्तानले पनि शिक्षामा राम्रो सफलता हासिल गरेका छन् । माइली छोरी सिर्जना हरिजन हाल बेलायतमा र कान्छो छोरा सन्दीप हरिजन भारतको प्रतिष्ठित प्राविधिक संस्थान एनआइटी राउरकेला, उडिसामा कम्प्युटर साइन्स एण्ड इञ्जिनियरिङ अध्ययन गरिरहेका छन् । यो परिवारको संघर्ष र सफलताको कथा हाल सबैका लागि उदाहरणीय बनेको छ । यसका पछाडि बुबाआमाको असाधारण संघर्ष छ, अदम्य साहस पनि । त्यो संघर्षको आक्रोस्बाट बुबा सन्तराममा ‘अदम्य अठोट’ र सन्तानहरूमा बुबाको सपना पछ्याउने ‘इख’ ले सफलताको बाटो तय गरेको हो । 

‘इँटाको भुङ्ग्रोबाट जन्मिएका सपना’  

कपिलवस्तुको बहादुरगञ्ज, त्यहाँभित्रको चमारबस्ती । घन्घोर पञ्चायतकालीन समय, जात व्यवस्थाको पिँधमा रहनु अर्थात् चमार हुनुका व्यथा सन्तरामसँग कतिछन् कति । त्यो क्षण सम्झ्यिो भने अहिले पनि उनको मन भत्‌भति पोल्छ, आँखालाई आक्रोस्को आँसुले बिटुलो बनाउँछ । कथित जात र पेसाले कहिल्यै आत्मसम्मानका साथ बाँच्न नदिने । एकातिर जात व्यवस्थाको जाँतो, अर्कोतिर त्यसैले सिर्जना गरेको गरिबीको खाडल । सन्तरामले आफ्ना बुबाको संघर्ष देखे ।

Advertisement
machhapuchare

इँटाभट्टाको भुङ्ग्रोमा काँध थाकिने र हात ठेला उठ्ने गरी गरेको बाउको संघर्षभन्दा ‘जातका कारण भोगेको अपमान’ को ‘घाउ’ ले सन्तरामलाई भत्‌भति पोल्थ्यो । ‘हो त्यहीबाट सपनाको जन्म भएको हो । बुबासँग इँटाभट्टामा मजदुरी गर्दा गर्दै एसएलसी उत्तीर्ण गरेँ । बुबाको इमानको कमाइबाट प्लस टु पढेँ, थप उच्च शिक्षाको सपना देँखे तर अभाव र गरिबीले टाउँको उठाउन दिएन । सपना त कति देँखेदेँखे तर त्यसलाई पछ्याउँदा सधैँ व्यवधान !’, उनले भने ।  

३१ चैत २०४२ मा सन्तरामको जीवनले नयाँ मोड लियो ।संघर्षकै क्रममा सो दिनदेखि उनी नेपाल प्रहरीको सहायक निरीक्षक बने । ‘कलिलो मस्तिष्कमा अभाव र अपमानको पीडा बेस्सरी गडेको थियो । त्यसको समाधानको उपयुक्त माध्यमका रूपमा राष्ट्रसेवामा प्रवेश गरेँ । अभावमा हुर्किए पनि जीवित सपनाले साकार रूप ग्रहण गरेको दिन थियो त्यो’, उनी सम्झिन्छन्, ‘अब त सपनाले नयाँ उडान भर्ने भयो भन्ने लाग्यो । प्रायः हाँसो नदेखिने बुबाको मुहारमा हाँसो ल्याउने, आमाको गहना बन्दकी राखेर पढेको ऋण तिर्ने र उन्नत भविष्यको कल्पना गर्ने, सन्तानलाई सुखको जीवन दिने । यही त थिए सपना ! अहँ, त्यो तीन वर्ष पनि टिकेन । निसाफको कुरा गर्दा जागिरबाट बर्खास्त हुनुपर्‍यो ।’

काठमाडौंको तत्कालीन कमलपोखरी वडा प्रहरी कार्यालयमा कार्यारम्भ गरेका सन्तराम त्यहीबाट बर्खास्तीमा परेर फेरि सडकमै आए । बर्खास्तीको दिन अर्थात् १७ साउन २०४५ आजजस्तै लाग्छ उनलाई । सन्तरामले बताएअनुसार उनको कमाण्डमा रहेको टोलीले जबरजस्ती करणीमा एउटा मान्छेलाई पक्राउ गर्‍यो । कारबाही अगाडि बढायो, पछि ती व्यक्ति तत्कालीन उच्च प्रहरी अधिकारीका आफन्त रहेछन् भन्ने थाहा भयो । यही घटना गिजोलियो र पछि अर्को घटनामा सन्तराम तीन हजार रुपैयाँ घुस लिएको भनेर बर्खास्तीमा परे ।

‘सङ्घर्ष गरेरै हुर्किए । ठूलो सपना बोकेर जागिर गरियो तर त्यो धेरै टिकेन । जबर्जस्ती बर्खास्तीमा परे । यो जीवनको असाधारण मोड थियो तर हिम्मत हारिन, फेरिसंघर्ष गरे । शिक्षण गरेर जीविको चलाए’, उनले भने, ‘दुःख त भयो तर हार मानिनँ । मसँगै सेवा प्रवेश गरेका कोही एसपी, डीएसपी भएर अवकाश हुँदै छन् । सायद म पनि माथि पुग्थे होला ! ठीकै छ, जीवन त बाहिर पनि रहेछ नि त !संघर्ष गरेँ, सन्तानलाई शिक्षा र संस्कार दिए । अहिले मेरा सपनालाई सन्तानले पूरा गर्दैछन् ।’

‘छोरी चमार समुदायबाट पहिलो डाक्टर’

कपिलवस्तुको कृष्णनगर नगरपालिका–९, बाहादुरगञ्जमा ५ कात्तिक २०५६ मा जन्मिएकी तिनै सन्तरामकी छोरी स्मृति हरिजन हाल ‘डाक्टर’ बनेकी छिन् । उनले ७२औँ नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षा उत्तीर्ण गरेकी छिन् । १२ देखि १५ जेठसम्म सञ्चालित परीक्षाबाट उनी उत्तीर्ण भएकी हुन् । ‘छोरी डाक्टर बनेको खबर सुनेपछि खुसीको सीमा नै छैन । पत्रपत्रिकामा खबर आइरहेका छन्, विश्वविद्यालय अनुदान आयोगबाट पनि फोन आएको थियो, तपाईंकी छोरी चमार समुदायको पहिलो महिला डाक्टर बन्नुभयो भनेर’, बुबा सन्तरामले भने, ‘हुन त अन्य सन्तान पनि राम्रै छन् । तीन जनाले सधैँ उत्कृष्ट नतिजासहित उच्च शिक्षा छात्रवृत्तिमा नै पढेँ । छोरी स्मृतिको सफलताले मेरो छाति गर्वले चौडा भएको छ ।’

काठमाडौंको पेन्टागन कलेजबाट ११ र १२ कक्षा छात्रवृत्तिमा अध्ययन गरेकी स्मृतिले नेपाल सरकारको छात्रवृत्तिमा जानकी मेडिकल कलेज, जनकपुरबाट एमबीबीएस उत्तीर्ण गरेकी हुन् । उनी यसको सबै श्रेय आफ्नो बुबालाई दिन्छिन् । ‘आज म यहाँ एक डाक्टर र महिलाको रूपमा मात्र होइन, मेरो देशको चमार समुदायबाट पहिलो महिला डाक्टरका रूपमा छु । यो मेरा लागि गर्व, भावुक र उत्साहित क्षण हो’, डा. स्मृति भन्छिन्, ‘हाम्रा लागि अध्ययन, अध्ययनका रूपमा मात्रै थियो होला तर मेरो बुबाका लागि स्वाभिमान, आत्मसम्मान र मुक्तिमार्ग थियो । हाम्रै खुसीका लागि उहाँले जे गर्न सकिन्थ्यो, सबै गर्नुभयो ।संघर्ष गर्नुभयो । अपमान सहनुभयो । गहना बेचेर, ऋण लिएर, मजदुरी गरेर सपना बुन्नुभयो । म त त्यो सपनाको माध्यम मात्रै हो ।’

उनले नेपाल सरकारले विश्वविद्यालय अनुदान आयोगमार्फत (चमार, डोम, मुसहर, वादी) दिइने छात्रवृत्तिमा अध्ययन गरेकी हुन् । सरकारले यस छात्रवृत्तिअन्तर्गत मेडिकल कलेज शुल्क, प्रतिमहिना पाँच हजार रुपैयाँ खाजा र स्टेशनरी खर्च दिने गरेको छ । अब आफ्नो जिम्मेवारी र दायित्व परिवारका लागि मात्र नभई आफ्नो समाज र सिङ्गो देशकै लागि थपिएको र त्यो विश्वास कहिल्यै नतोड्ने उनको भनाइ छ । 

डा. स्मृति जात व्यवस्थामा हेयको दृष्टिले हेरिने समाजमा जन्मिएका हरेक युवाले आँटेमा हरेक कुरा सम्भव हुने भन्दै अब गुनासो गरेर बस्ने छुट कसैलाई नभएको बताउँछिन् । ‘मैले गरिब, कथित तल्लो जात र महिला भएकैले दोहोरोतेहेरो उत्पीडन भोग्नु त पर्‍यो नै । चमार समुदायलाई वर्षौंदेखि सस्तो श्रम र जातीय पूर्वाग्रहको चस्माबाट हेरिएको छ । त्यसैले गुनासा त छन्, समाज, सामाजिक संरचना, हाम्रो व्यवस्थाबारे, तर गुनासो गरेर पुगिने कही होइन’, उनले भनिन्, ‘मैले मेरो आमाबुवा र शिक्षकहरूबाट सुनेँ, ‘शिक्षा नै शक्तिको सबैभन्दा ठूलो हतियार हो’ भनेर । त्यसैले सबै तिरस्कार, अपमान, अभाव र गुनासाहरूलाई छोडेर सपना पछ्याउन हिँडे । त्यही भएर यो स्थानमा छु ।’

उनी धेरै मानिसका लागि डाक्टर बन्नु व्यक्तिगत लक्ष्य भए पनि आफ्ना लागि त्यो व्यक्तिगत मात्र नभई समाजमा आशा जगाउने अभियान भएको बताउँछिन् । ‘मैले, हामी सक्छौँ भनेर उत्तर दिनु थियो । चुपचाप सपना देखिरहेकी चमार समुदायकी हरेक युवतीलाई भन्न चाहन्छु–तिमी जहाँ जन्मियौँ, त्यो तिम्रो दोष होइन । तिमी जस्तो रहिरहन्छौँ, त्यसको दोषी तिमी पनि हौँ । त्यसैले हिम्मत गर, तिम्रो भाग्य र भविष्य तिमीले नै निर्धारण गर्ने हो । तिमीलाई सपना देख्ने, पढ्ने, नेतृत्व गर्ने र सेवा गर्ने सम्पूर्ण अधिकार छ । बस् अब उठ, जाग,’ उनले भनिन् । 

अबको योजना

केन्द्रीय तथ्यांक विभागको  तथ्यांकअनुसार (राष्ट्रिय जनगणना २०७८) नेपालमा १४२ जाति र १२४ भाषाभाषी छन् । १४२ जातिहरूमध्ये १७ औँ नम्बरमा चमार, राम र हरिजन भनेर उल्लेख छ भने यो समुदायको जनसंख्या तीन लाख ९३ हजार २५५ छ । जसमा पुरुषकोसंख्या एक लाख ९६ हजार ७९९ र महिलाकोसंख्या एक लाख ९६ हजार ४६४ रहेको छ । यो समग्र जनसंख्याको एक दशमलव ३५ प्रतिशत हो । 

चमारलाई दलितभित्र पनि शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक दृष्टिले पिछडिएको, राजनीतिक पहुँचबाट टाढा रहेको र जातीय संरचनाका कारण अत्यन्त पिँधमा रहेको जातिका रूपमा लिइन्छ । यसैकारण सदियौँदेखि चमार जातिले अनेकौँ सामाजिक तथा सांस्कृतिक बन्धनभित्र बसेर कष्टपूर्ण जीवन बिताउँदै आएका छन् । यही समाजमा जन्मिएकाले स्मृतिको भोगाई पनि पृथक छैन । ‘बुबासंघर्षशील भएकाले हामीले धेरै अभावको सामना त गर्नुपरेन तर समाजको संरचनाभित्र रहँदा पटकपटक अपमानको सामना गर्नुपर्‍यो । विगतमा मात्रै होइन, कतिपय अवस्थामा अचेल पनि जातको कुरा आएपछि अपमान भोग्नुपर्छ’, उनले भनिन्, ‘त्यो बन्धन, अपमान छिचोलेर यहाँसम्म पुगेकी छु, अब आफ्नो सम्पूर्ण जीवन आत्मसम्मान, समाजको हित र चिकित्सा सेवा तथा शिक्षामार्फत समाजमा जागरण ल्याउने हुनेछ ।’

बाल्यकालका धेरै अपमानका कथाहरू डा. स्मृतिको मनस्पटलमा कति छन् कति । ती सबै सम्झेर साध्य छैन । चिकित्सा शिक्षा पढ्दै गर्दा भोगेको एउटा घटना भने मनमा ‘खिल’ झैँ गडेको छ । ‘चिकित्सा शिक्षा अध्ययनकै क्रममा समुदायमा अभ्यासमा गएको एकदिन एउटा घरमा बच्चालाई बिस्कुट दिए । लगत्तै उसको अभिभावकले जात सोध्नुभयो, चमार भनेपछि बच्चाले खाइरहेको बिस्कुट खोसेर फालिदिए’, उनले सम्झिइन्, ‘यसले निःशब्द बनायो । केही बोलिन तर आफैँसँग प्रश्न गरेँ, आखिर यसमा मेरो के गल्ती भयो ? म चमार जातिमा जन्मिनु मेरो पाप हो ? त्यो द्दटना सम्झिँदा निकै दुःख लाग्छ ।’

यसैकारण डा. स्मृति आफ्नो उपलब्धिलाई केवल आफ्नो र परिवारको विषय मात्र बनाउन चाहन्निन् । यो आफ्नो समुदायकै आत्मसम्मानको सुरुआत भएको उनी बताउँछिन् । ‘यो केबल मेरो व्यक्तिगत सफलता होइन, त्यसैले अबको मेरो लक्ष्य केबल जागिर गर्ने मात्र होइन, समाजमा जागरण ल्याउने पनि हो । समाजसेवा, समान अधिकारको पैरवी, हिजो विविध कारणले हामी दबिएका थियौँ तर अब उठका छौँ भनेर संसारलाई भन्नुछ’, उनले भनिन् ।

बुबा सन्तराम पनि पढाई र विभिन्न समस्यामा घर, जग्गा, सम्पत्ति बन्धकी राखेर लिएको करिब ४० लाखको हिसाबकिताबमा कम, आफूजस्तै अरु छोरीहरूमा शिक्षा र चेतनाको ‘भोग’ जगाउनमा बढी  लागेको देख्ने चाहना सुनाउँछिन् । ‘अब घरको जिम्मेवारी बाँडिएको छ । माइली छोरी, छोरा र स्मृतिले पनि त्यो जिम्मेवारी उठाउलान् । त्यसैले चिन्ता घटेको छ । अब मेरा सन्तानले समाजका लागि केही गर्छन् कि गर्दैनन् भनेर अर्को चिन्ता थपिएको छ । त्यसका लागि पनि म उत्प्रेरक बनिरहने छु’, उनले भनिन् ।

चिकित्सा शिक्षा अध्ययनमा प्रत्यक्ष जोडिएकी जानकी मेडिकल कलेजका मेडिकल सुपरिटेन्डेन्ट डा. धर्म सुवेदी पनि राज्य र आफूहरूले दिएको अवसरलाई स्मृतिले समाज र देशको हितमा लगाउने अपेक्षा रहेको बताउँछन् ।  ‘उहाँमाथि अभिभावक मात्रै होइन, राज्यले ठूलो लगानी गरेको छ । हाम्रो योगदान पनि त्यत्तिकै छ । त्यसैले अब स्मृतिले आफूजस्तै सीमान्तकृत समुदायको हितमा पनि काम गर्न सक्नुपर्छ’, उनले भने । 

प्रतिक्रिया