शनिबार, जेठ २४, २०८२

बूढीगङ्गामा इन्टरनेट सेवा अवरुद्ध

मेरोन्यूज २०८२ जेठ २४ गते ८:३१

बाजुरा । जिल्लाको बूढीगङ्गा नगरपालिका–६ मा पर्ने बाम्का बजारमा एक होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी भएपछि यहाँको इन्टरनेट सेवा अवरुद्ध भएको छ । साँफे–मार्तडी राजमार्गमा पर्ने बाम्का बजारमा शुक्रबार नवदुर्गा होटलमा ग्यास पड्किएर आगलागी हुँदा इन्टरनेटको तार जलेपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकम बाजुरा शाखाले जनाएको छ ।

बाम्का बजारमा आगलागी भएपछि विद्युत्को तारसँगै इन्टरनेटको पनि जलेको नेपाल टेलिकम बाजुराका प्राविधिक गङ्गाराम जैशीले बताउनुभयो । उहाँका अनुसार टेलिकमको तार जलेको डडेल्धुरामा खबर गरिसकेको छ । मर्मत टोली आइतबारसम्म आइपुग्ने टेलिकमका प्राविधिक जैशीले बताए ।

त्रिवेणी नगरपालिका र बूढीगङ्गा नगरपालिकामा विस्तार गरिएका तार जलेर नष्ट भएको छ भने मार्तडीको इन्टरनेटमा पनि खराबी आएका कारण इन्टरनेट सेवा सञ्चालन हुन नसकेको जैशीको भनाइ रहेको छ । इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्लाका सञ्चारमाध्यम र सरकारी तथा वित्तीय संस्थाहरूको काम प्रभावित बनेको छ ।

प्रतिक्रिया