सोमबार, फागुन २५, २०८२

वार्षिक उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशत

मेरोन्यूज २०८२ जेठ २७ गते १४:३९


गत वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशत देखिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको दश महिनाको तथ्यांकमा वर्तमान आर्थिक तथा वित्तीय स्थिति अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा मुद्रास्फीति घटेको हो। अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ४.४० प्रतिशत थियो।

Advertisement
nepal life insurencenepal life insurence

राष्ट्र बैंकका अनुसार गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत रहेको छ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घिउ तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.०८, फलफूलको ६.१५, दाल तथा गेडागुडीको ५.१७ र गैरमदिराजन्य पेय पदार्थको ४.७० प्रतिशतले वृद्धि भएको छ। तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ८.११, मरमसलाको २.२० र माछा तथा मासुको ०.४८ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ९.०४, शिक्षाको ५.८८, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२३ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ३.९९ प्रतिशत र रेस्टुरेन्ट तथा आवास सेवाको ३.१६ प्रतिशतले बढेको छ।

प्रतिवेदनअनुसार गत वैशाख महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.२१ र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक २.६१ प्रतिशतले बढेको छ।

प्रदेशगत रूपमा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सबैभन्दा बढी ४.२९ प्रतिशत देखिएको छ। मधेश प्रदेशको २.८१, बागमतीको २.४०, गण्डकीको २.२३, लुम्बिनीको २.१५, कर्णालीको २.२१ र सुदूरपश्चिमको ३.१४ प्रतिशत रहेको छ।

त्यसैगरी, काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.६४, तराईको २.६४, पहाडको २.६५ र हिमालको ४.०१ प्रतिशत रहेको छ।

प्रतिक्रिया