बुधबार, पुष ९, २०८२

नेदरल्याण्ड्स विरुद्ध नेपाल ६ विकेटले विजयी

मेरोन्यूज २०८२ असार ६ गते ६:०४

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध जित हात पारेको छ । बिहीबार राति भएको खेलमा नेपालले नेदरल्याण्डविरुद्ध ६ विकेटको जित निकालेको हो ।

नेदरल्याण्डले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा चार विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितमा कुशल भुर्तेलले शानदार प्रदर्शन गरे । उनले ५१ बलमा ६ चौका सहित ६५ रन बनाए ।यस्तै आरिफ शेख र भीम सार्कीले पनि महत्त्वपूर्ण रनको योदान दिए । आरिफले मात्र २३ बलमा दुई छक्का र तीन चौकाको सहयोगमा ३९ रनको योदान दिए । स्वास्थमा समस्या भएपछि उनी रिटायर हर्ट भए ।

यस्तै भीम सार्कीले पनि १६ बलमा १ छक्का र दुई चौकासहित २७ रन जोडे । दीपेन्द्र सिंह ऐरीले नटआउट १६ रन जोड्दा लोकश बमले भने चार बलमा दुई छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए ।

बलिङ तर्फ नेदरल्यान्ड्सका बेन फ्लेत्चर, आर्यन दत्त, ज्याक लियोन क्याचेट र रियोल्फ भानडर मर्भेले एक/एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७४ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले आक्रामक पारी खेले । ५३ बल खेलेका उने ५ छक्का र ६ चौकाको सहयोगमा ८६ रनको शानदार पारी खेले ।

यस्तै भानडर मर्भेले नटआउट ३६ रन जोड्दा आर्यन दत्तले १७ र सकिब जुल्फीकरले १४ रन जोडे ।

नेपालका लागि करण केसीले ४ ओभरमा ४० रन खर्चिँदै दुई विकेट लिए । ललित राजवंशी, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र रुपेश सिंहले १/१ विकेट लिए । नेदरल्यान्ड्सको यो अन्तिम खेल हो । चार खेलमा नेदरल्यान्ड्सले २ हार र २ जित निकाल्यो ।

यता नेपालको यो तेस्रो खेल हो । यसअघिका दुई खेलमा एकमा हार र एकमा जित निकालेको थियो ।

प्रतिक्रिया