झापामा डेङ्गी सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु

झापा । गत वैशाखयता जिल्लामा डेङ्गी सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । गत वैशाखदेखि असार १३ गतेसम्म जिल्लामा ६१ जनामा डेङ्गी सङ्क्रमण देखा परेको हो ।
बिर्तामोड नगरपालिकाअन्तर्गत स्वास्थ्य शाखाका महामारीजन्य रोग नियन्त्रण रोकथाम कार्यक्रम संयोजक ओम खड्काका अनुसार बिर्तामोडमा ५४, दमक नगरपालिकामा एक र गौराहद नगरपालिकामा छ सङ्क्रमित फेला परेका हुन् ।
“बिर्तामोडमा डेङ्गी सङ्क्रमण उच्च देखिएको छ”, उनले भने, “यहाँ अन्य जिल्लाबाट उपचारका लागि आउने बिरामीको परीक्षण गर्दा सङ्क्रमणदर उच्च देखिएको हो ।” जिल्लामा चालु आर्थिक वर्षको असार १३ गतेसम्म एक हजार दुई सय ९१ जना डेङ्गी सङ्क्रमित फेला परेका खड्काले जानकारी दिए ।
यसैबीच, डेङ्गी सङ्क्रमण बढ्न थालेको भन्दै बिर्तामोडमा लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । नगरपालिकाको सहभालहमा आज ‘डेङ्गीसहित विभिन्न किटजन्य रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्न सरोकार भएकासँग अभिमुखीकरण’ कार्यक्रम आयोजना गरी उक्त अभियानको सुरुवात गरिएको हो ।
नगरपालिकाका कार्यवाहक नगरप्रमुख नगेन्द्र सङ्ग्रौलाले अभियानको शुभारम्भ गर्दै रोग लाग्नुभन्दा लाग्न नदिने वातावरण सिर्जना गर्न सबैले सहकार्य र समन्वय गरी सचेत हुनुपर्ने बताए । नगर क्षेत्रमा रहेका सहकारी, बैंकलगायत सङ्घसंस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत महामारीजन्य रोग नियन्त्रण सहकार्य गर्न उनले सबैलाई आग्रह गरे ।
बिर्ता बजार क्षेत्रमा रहेका मोटरसाइकल ग्यारेज, पसललगायत सम्भावित स्थानमा गएर लार्भा नष्ट गरिएको छ । अभिमुखीकरण कार्यक्रममा नगरका १० वटै वडाका आधारभूत स्वास्थ्य केन्द्रलाई महामारीजन्य रोग नियन्त्रणका लागि ‘पोर्टेबल महामारी किट’ वितरण गरिएको नगर उपप्रमुखसमेत रहेका सङ्ग्रौलाले जानकारी दिए ।
अभिमुखीकरण कार्यक्रममा नगरका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक अजय पौडेलले प्रस्तुतीकरण दिँदै मनसुन सुरु भएसँगै किटजन्य महामारीको सङ्क्रमण उच्च हुने भएकाले सम्भावित जोखिमबाट बच्न सबै सचेत हुनुपर्ने बताए ।
“अन्य किटभन्दा लामखुट्टेको जोखिम बढी छ”, उनले भने, “छ प्रकारका रोग लामखुट्टेले सार्छ, यसको समयमा नियन्त्रण गर्न सकिएन भने छोटो समयमा महामारीका रूपमा फैलिन सक्छ ।” बिर्तामोडमा पाँच वर्षयता मलेरिया नदेखिएको जनाउँदै जनस्वास्थ्य निरीक्षक पौडेलले कालाजार र जापानिज इन्सेफ्लाइटिसका बिरामी एक/एक जना भेटिएका उल्लेख गरे ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर विष्टले जलवायु परिवर्तनका कारण डेङ्गी सङ्क्रमण पुसमा देखिएकाले यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सबै लाग्नुपर्ने आवश्यकता रहेको औँल्याए ।
के हो डेङ्गी ?
एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी एक प्रकारको ज्वरो हो । यसले स–साना सफा पानी जमेको स्थानमा फूल पार्ने गर्दछ । डेङ्गीको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ ।
“ज्वरोका साथै असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा माङ्सापेसीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्नेलगायतका लक्षण देखापर्न सक्छन्”, जनस्वास्थ्य निरीक्षक पौडेलले भने । यस्ता लक्षण देखापरेमा तत्काल चिकित्सकको सल्लाह लिई स्वास्थ्य परीक्षण गर्नुपर्ने उनले सुझाव दिए ।
















नाइजेरियाको बारमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो
यामाहा FZS FI हाइब्रिड एक हप्तामै सोल्ड आउट, नयाँ ब्याचका लागि प्रि-बुकिङ खुला
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
कृषि सामग्री कार्यालय जनकपुरधामद्वारा ४३ करोडको रासायनिक मल बिक्री
दराजको ‘४.४ नव वर्ष उत्सव’ सार्वजनिक, यस्ता छन् अफर
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
प्रतिक्रिया