शनिबार, पुष ५, २०८२

मैले एमालेको सदस्यता नवीकरण गरिसकेँ : विद्या भण्डारी

मेरोन्यूज २०८२ असार १४ गते १७:३२

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ नेकपा एमालेको सदस्यता नवीकरण गरेको बताएकी छन् ।

जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा शनिबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा सदस्यता नवीकरणसँगै आफू एमालेको परिवारको सदस्यको रूपमा पुनः जोडिएको बताइन् ।

‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमाले मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,’ भण्डारीले भनिन्, ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु ।’

व्यवहारका कसीबाट खारिएका जननेता मदन भण्डारीका भनाइलाई आदर्श मानेर आफू पार्टीमा समर्पित रहिरहने उनको भनाइ थियो ।

‘राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा मलाई राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका छन्, बुझाएका छन् र थप परिपक्व समेत बनाएका छन्,’ भण्डारीले भनिन् ।

प्रतिक्रिया