महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गरेको छ ।
रिर्फर सेन्टरका रुपमा परिचित महाकाली अस्पतालले पछिल्लो समय २३ जना विशेषज्ञ चिकित्सकसहितको सेवा दिन थालेको हो । महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन अर्जुन भट्टले छात्रवृत्ति करारका विशेषज्ञ चिकित्सक थपिएको जानकारी दिए ।
उनका अनुसार मेडिसिन विभाग, हाडजोर्नी विभाग, सर्जरी विभाग, स्त्री तथा प्रसूति रोग विभाग, रेडियोलोजी, एनेस्थेसियोलोजी र मानसिक रोग विशेषज्ञ सेवा थपिएको हो । “विशेषज्ञ सेवा थपिएपछि यहाँका सेवाग्राहीलाई उपचारमा सजिलो हुन्छ”, भट्टले भने, “एउटै विभागमा दुई÷तीन जना विशेषज्ञ हुँदा एक जना बिदामा बस्दा पनि समस्या हुँदैन ।” यसअघि एउटा विभागमा एक जनामात्रै विशेषज्ञ चिकित्सक हुँदा बिदामा जाँदा उक्त सेवा बन्द हुने गरेको थियो ।
“अस्पतालमा पहिलो पटक यतिधेरै विशेषज्ञ चिकित्सक आएका हुन्”, उनले भने, “विशेषज्ञ सेवा थपिएपछि अहिले दैनिक ४०० देखि ५०० सेवाग्राहीले दैनिक सेवा लिने गरेका छन् ।” अस्पतालमा २८ जना विशेषज्ञ चिकित्सककोे दरबन्दी रहेको भए पनि अहिले एक जनामात्रै दरबन्दीमा कार्यरत छन् । अन्य विशेषज्ञ चिकित्सक छात्रवृत्ति करार र अस्पताल व्यवस्थापन समितिबाट करारमा सेवा दिँदै आएका छन् ।
विगतको तुलनामा अस्पतालले विशेषज्ञसहितको सेवामा सुधार गर्दै गएको अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए । “अहिले एउटै विभागमा दुई÷तीन जना विशेषज्ञ चिकित्सकले सेवा दिइरहनुभएको छ यसले सेवाग्राहीलाई सजिलो भएको छ”, उनले भने, “अहिले विशेषज्ञ चिकित्सक सेवा थपिँदै गएको सरकारले त्यहीअनुसारको भौतिक पूर्वाधार र स्वास्थ्य उपकरणमा ध्यान दिनुपर्छ ।”
उनले सरकारले दरबन्दीअनुसार लोकसेवाबाट पदपूर्ति गर्न नसक्दा अहिले करारमा मात्रै चिकित्सक काम गरिरहेको बताए । “विगतको तुलनामा यहाँबाट सेवा लिने बिरामीको सङ्ख्या बढेको छ”, उनले भने, “अहिलेको मुख्य आवश्यकता भनेको सिटिस्क्यान हो, यो उपलब्ध भयो भने कुनै पनि बिरामीले यहाँबाट अन्यत्र रिफर हुनुपर्दैन ।”
विसं २०२० मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको अस्पताल २०३१ सालमा २५ श्ययाको जिल्ला अस्पतालमा परिणत भएको थियो । जिल्ला अस्पतालबाट स्तरोन्नति हुँदै २०४३ सालमा ५० श्ययाको अञ्चल अस्पताल (रेफरल सेन्टर) भयो । मुलुकमा सङ्घीयतापछि प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भएपछि भने अस्पतालले विशेषज्ञ सेवा दिन थालेको हो ।
अस्पतालमा स्वीकृत स्थायी दरबन्दीअनुसार ११ तहका विशेषज्ञ चिकित्सक चार जना र नवौँ र १० तहका विशेषज्ञ चिकित्सक १६ जनाको दरबन्दी छ । अहिले अस्पतालमा मेडिसिन विभागमा चार जना, हाडजोर्नी विशेषज्ञ तीन जना, स्त्रीरोग विशेषज्ञ तीन जना, बालरोग विशेषज्ञ दुई जना, नाक, कान घाँटी विशेषज्ञ दुई जना, एनेस्थेसियोलोजिस्ट दुई जना, सर्जरी विशेषज्ञ तीन जना र रेडियोलोजिस्ट दुई जना कार्यरत छन् ।
त्यसैगरी, एक जना मानसिक रोग विषेशज्ञ कार्यरत छन् । अस्पतालमा, जनरल फिजिसियन, प्याथोलोजिस्ट, डर्माटोलोजिस्ट विशेषज्ञ चिकित्सको दरबन्दी भए पनि हालसम्म दरबन्दीअनुसारका चिकित्सकहरु उपलब्ध हुन सकेका छैनन् ।












Trump Announces Formation of Gaza Peace Council
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
Slight increase in gold and silver price
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया