शुक्रबार, मंसिर १२, २०८२

यूएईका लगानीकर्तालाई अध्यक्ष ढकालले भने– नेपालमा लगानी गर्ने उपयुक्त अवसर

मेरोन्यूज २०८२ साउन २ गते १५:५८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यूएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । यूएई र नेपालबीच आर्थिक सहकार्यलाई प्रवर्धन गर्ने उद्देश्यले बिहीबार काठमाडौंमा आयोजित यूएई आर्थिक प्रवर्धन कार्यक्रममा अध्यक्ष ढकालले नेपालमा लगानी गर्ने उपयुक्त अवसर रहेको बताए ।

नेपालले पछिल्लो समय व्यापक आर्थिक सुधार गरिरहेको र लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको अध्यक्ष ढकाल बताउँछन् । उनले ३० भन्दा बढी कानुन संशोधन भइसकेको र द्विपक्षीय लगानी सम्झौता अन्तिम चरणमा रहेको अवस्थामा यूएईका लगानीकर्ताका लागि नेपालमा लगानी गर्ने उपयुक्त अवसर हुने धारणा राखे ।


“नेपाल अहिले स्थायित्व र सम्भावनाको चरणमा छ । ऊर्जा, पर्यटन, कृषि प्रशोधन र सूचना प्रविधिजस्ता क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको छ । त्यसैले युएईका लगानीकर्ताहरूका लागि अहिलेको समय नेपाल प्रवेश गर्न उपयुक्त अवसर हो,” अध्यक्ष ढकालले भने ।

उनले जलविद्युत्, सौर्य ऊर्जा, प्रसारण लाइन, रिसोर्ट, साहसिक पर्यटन, कृषि उत्पादन प्रशोधन तथा आईसीटी आउटसोर्सिङमा संयुक्त लगानीको प्रस्ताव पनि राखेका छन् ।

अध्यक्ष ढकालले यूएईमा कार्यरत तीन लाखभन्दा बढी नेपालीलाई लक्षित गर्दै वित्तीय सेवा, तालिम केन्द्र र सिप विकासमा लगानी गर्न आग्रह गरे ।

प्रतिक्रिया