सोमबार, फागुन १८, २०८२

कर्णालीमा अझै ५० ठाउँमा तुइन

मेरोन्यूज २०८२ साउन ५ गते १०:३०

सुर्खेत। तुइन हटाउने नीति लिएको कर्णाली प्रदेशले तथ्याङ्क सङ्कलन गरेको छ । तथ्याङ्कअनुसार १० जिल्लामा सङ्कलित तथ्याङ्कअनुसार ५० वटा तुइन रहेको प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीले जानकारी दिए ।

Advertisement
nepal life insurencenepal life insurence

तुइन विस्थापित गर्दै झोलुङ्गे पुल निर्माण गर्ने योजना अनुरूप विवरण माग गरिएको थियो ।प्रदेशका १० मध्ये सात वटा जिल्लामा रहेका तुइनको विवरण मन्त्रालयलाई प्राप्त भएको हो । पूर्वाधार विकास कार्यालयबाट माग गरिएको विवरण अनुसार ५० वटा तुइन भएको विवरण प्राप्त भएको मन्त्रालयका प्रवक्ता सुवेदीले जानकारी दिए ।

सङ्कलन गरिएको विवरणअनुसार सबैभन्दा धेरै तुइन हुम्लामा रहेका छन् । हुम्लामा १५ वटा तुइन रहेको विवरणमा उल्लेख छ । हुम्लामा कर्णाली नदीमाथि ६ वटा तुइन रहेको जनाइएको छ ।यसैगरी कालीकोटमा १२, जाजरकोटमा १२, दैलेखमा दुई, मुगुमा दुई, डोल्पामा तीन र सुर्खेतमा आठ वटा तुइन रहेको विवरण प्राप्त भएको छ । दैलेख, जुम्ला र रुकुम पश्चिमबाट विवरण प्राप्त नभएको जनाइएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा कर्णालीलाई तुइनमुक्त बनाउने नीति लिएको छ । नीति तथा कार्यक्रममा यो योजना समेटेर बजेटसमेत विनियोजन गरिएको छ ।

तुइन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । चालु आर्थिक वर्ष २०८२–०८३ मा उक्त शीर्षकमा एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता सुवेदीले बताए ।

प्रतिक्रिया