बुधबार, मंसिर १०, २०८२

एतिहासिक बौद्ध महाङ्काल जात्रा हर्षका साथ मनाईयो

मेरोन्यूज २०८२ साउन २८ गते १९:२९

काठमाडौँ । श्री बौद्धनाथ क्षेत्र विकास समितिले धार्मिक सहिष्णुता अझ मजबुत बनाउन लामा, बज्राचार्य र ब्राह्मण गुरूहरूबाट महाङ्कालको पूजाअर्चना गरी ऐतिहासिक बौद्ध महाङ्काल जात्रा मनाएको छ ।

पूजामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र रक्षामन्त्री मानवीर राईले पनि लामा, बज्राचार्य र ब्राह्मण गुरूहरूद्वारा गरिएको पूजापद्धतिको अवलोकन गरे । उनीहरूले महाङ्कालको पूजाअर्चना गरी प्रसाद ग्रहण गर्दै धार्मिक सहिष्णुता कायम राख्न समितिले गरेको कामको प्रशंसा समेत गरेका थिए ।

हिन्दु एवं बुद्ध धर्मावलम्वीले आ–आफ्नो धार्मिक विधि–पद्धति अनुरूप समान रूपमा महाङ्कालको पूजाअर्चना गर्ने गर्छन् । मङ्गलबार बौद्ध महाङ्काल चौर प्राङ्गणमा लामा, बज्राचार्य र ब्राह्मण गुरूबाट आ–आफ्नो पूजा पद्धतिअनुरूप यज्ञ मण्डप स्थापना गरी महाङ्कालको पूजा गरिएको दृश्य अत्यन्त मनमोहक थियो । हिन्दू एवं बुद्ध धर्मका अनुयायीहरूको बाक्लो उपस्थितिमा पूजाअर्चना गरिएको थियो ।

हिन्दू र बुद्ध धर्मावलम्वीले महाङ्कालप्रति उत्तिकै आस्था राख्ने हुँदा धार्मिक सहिष्णुता सदैव कायम होस् भन्ने कामनाका साथ लामा, बज्राचार्य र ब्राह्मण गुरूबाट महाङ्कालको पूजाअर्चना गरिएको समितिका कार्यकारी निर्देशक मोहनकुमार लामाले बताउनुभयो । पूजाअर्चना पछि प्रसाद ग्रहणसँगै ऐतिहासिक बौद्ध महाङ्काल जात्रा सुरू गरिएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय श्री बौद्धनाथ क्षेत्र बिकास समितिको संयोजनमा बिभिन्न संघ संस्थाको आयोजनामा माहाँकाल जात्रा २०८२सम्पन्न भएको छ।

मंगलबारबौद्ध धर्मका धर्मपाल मानिने महाकालको जात्रा बौद्धमा पहिलो पटक विविध धार्मिक र सांस्कृतिक कार्यक्रमका साथ मनाइएको हो।

सनातन हिन्दु धर्मका पुरोहित ,बौद्ध धर्मका लामा गुरु र बज्राचार्य गुरुहरूबाट परम्परा अनुसार गरिएको उक्त महाङ्काल भैरवको साधना पुजा तथा जात्रामा नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री प्रसाद पाण्डे , नेपाल सरकार रक्षा मन्त्री माननीय मानवीर राई लगायत उच्च प्रतिष्ठीत व्यक्तिहरुको सहभागिता रहेको थियो ।

साधना पुजा पश्चात विभिन्न झाँकी सहित हजारौँको संख्यामा रहेका सहभागिहरुले बाजागाजा सहित महाकालको प्रतिमालाई खटमा राखी रामहिटी, तीनचुली,भुवलडाँडा, बौद्ध, पिपलबोट ,टुसाल, चुच्चेपाटी हुँदै पुनः महाकाल स्थानमा फर्काइ्एको थियो ।

महाकाल जात्राको परम्परागत थालनी गरिएको श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले जानकारी गराए । महाङ्काल भैरवको साधना पुजाको लागी बिभिन्न संघ संस्थाको सहभागिता रहने गरी माहाँकाल जात्रा मूल समारोह समिति गठन गरिएको थियो ।

प्रतिक्रिया