शनिबार, मंसिर ६, २०८२

वासुदेवचन्द्र मल्ल : इतिहासका स्थापित व्यक्तित्व

मेरोन्यूज २०८२ साउन ३१ गते १२:०६

काठमाडौँ। नेपाल बहुसभ्यता र बहुसंस्कृति सम्पन्न गौरवपूर्ण अतीत भएको मुलुक हो । इतिहासको विभिन्न कालखण्डमा राष्ट्र एवं समाजमा विशेष योगदान पु¥याएका व्यक्तित्वहरूको स्मरण गरी श्रद्धासुमन व्यक्त गर्नु नेपाली समाजको एउटा सुन्दर पक्ष हो । विगतमा देशका लागि गुन लगाएका व्यक्ति समाजमा ओझेल नपरुन् र त्यो योगदान बारेमा भावी पुस्ता पनि सुसूचित हुन सकुन् भन्ने हेतुले यस्ता महामानवहरूको स्मृति दिवस मनाउने विशिष्ट परम्परा रहेको पाइन्छ ।

यसै तथ्यलाई आत्मसात् गरी प्रा वासुदेवचन्द्र मल्लको २८औँ स्मृतिदिवस साउन ३१ गते पनि स्मरण गर्ने र उहाँले नेपालको शैक्षिक, प्रशासनिक, कूटनीतिक र राजनीतिक क्षेत्रमा पु¥याएको योगदान पनि स्मरण गर्ने उद्देश्य यस आलेखको रहेको छ । मध्यकालीन नेपालको इतिहासमा कर्णाली प्रदेशमा सवल खसिया मल्ल साम्राज्य थियो । सोही राज्य विखण्डन हुँदै जाँदा बाइसी र चौबीसी राज्यहरू सिर्जना भए । यिनै टुक्रेमध्येका केही राज्यमा शासक मल्लवंशी थिए । यही मल्लवंशका सन्तति थिए, बझाङका कृपाचन्द्र मल्ल ।

उनी भारतीय सेनामा कर्नेल पदमा कार्यरत रहँदा अल्मोडा (हाल भारतको उत्तराखण्ड) मा २५ डिसेम्बर १९२६ मा वासुदेवचन्द्र मल्लको जन्म भएको थियो । उनी नै कालान्तरमा बिसी मल्लको नामबाट ख्यातिप्राप्त हुनुभयो । अल्मोडामा नै म्याट्रिक पास गरी बनारसको काशी हिन्दू विश्वविद्यालयमा राजनीतिशास्त्रमा स्नातकोत्तर उत्तीर्ण मल्ल बनारसमा अध्ययन गर्ने क्रममै प्रजातन्त्रका हिमायती बन्नुभएको थियो । उनले सन् १९५१ (विसं २००७) सालदेखि मृत्युपर्यन्त मुलुकको बहुविधा क्षेत्रको केन्द्रविन्दुमा रही मुलुकलाई महत्वपूर्ण योगदान पु¥याए ।

भारतको बनारस प्राचीनकालदेखि नै नेपालीहरूका लागि आकर्षक गन्तव्यस्थल रहेको थियो । तीर्थाटनका लागि मात्र नभएर पढ्न, जागिर खान, राजनीति गर्न, आवश्यक पर्दा परिचय लुकाएर भूमिगत रहन, मर्न र मार्न तथा निर्वासित भई आश्रय लिन नेपालीहरू बनारस पुग्ने गरेको देखिन्छ । बनारसबाटै नेपालको प्रजातान्त्रिक आन्दोलन प्रारम्भ भएको थियो । यस आन्दोलनमा पनि मल्ल सरिक भए।

हनुमाननगरबाट सशस्त्र क्रान्तिमा भाग लिई आन्दोलन सफल बनाउन उहाँले सहयोगी भूमिका निर्वाह गरेका थिए । उनले बनारस हिन्दू विश्वविद्यालय, नेपाली छात्र सङ्घका अध्यक्ष भई नेपाली विद्यार्थीहरुलाई आन्दोलनमा सरिक हुन प्रेरित गरेकाे प्रसङ्ग स्मरणीय छ । सन् १९५१ (विसं २००७) सालको आन्दोलनपश्चात् सन् १९५३ देखि ५५ सम्म बालसखा दलको सदस्य भई सन् १९५६ मा तरुण दलको सचिव हुँदै अध्यक्षको भूमिका समेत निर्वाह गरेका थिए ।

प्रारम्भदेखि नै प्रजातन्त्रका हिमायती हुँदा पञ्चायती राजको कोपभाजनमा परे । यद्यपि २०४६ सालको आन्दोलन सफल हुनुमा पनि मल्लको योगदान स्तुत्य रहेको थियो । तत्कालीन समयमा सम्पूर्ण बौद्धिक वर्गलाई आन्दोलनमा परिचालन गर्न पनि उनी सफल हुनुभएको थियो । आजन्म प्रजातन्त्रप्रति गहिरो अनुराग राख्नुहुने मल्लले आत्मसम्मान, स्वाभिमान र अवलम्बन गरेको आदर्शसँग कहिल्यै सम्झौता गरेनन् । विसं २०४६ पश्चात् प्रजातन्त्र रक्षा गर्ने दिशामा उनले सदैव रक्षाकवजका रूपमा आफूलाई अग्रसर बनाए ।

नेपालमा सन् १९६१ (विसं २०१८) देखि प्रारम्भ भएको राजनीतिशास्त्रको स्नातकोत्तर कार्यक्रममा सन् १९७५ (विसं २०३२) सम्म अनवरत सेवा गरी धेरै शिष्यहरूको व्यक्तित्व निर्माणमा उनले प्रत्यक्ष भूमिका निर्वाह गरे। शेरबहादुर देउवा, अर्जुननरसिंह केसी, हिरण्यलाल श्रेष्ठ, कृष्ण पोखरेल, कृष्ण खनाल, नवीनप्रकाशजङ्ग शाह, सौभाग्यजंग कार्की, कपिल श्रेष्ठ, श्रीशशमशेर राणा, मधुनिधि तिवारीजस्ता अनेकौँ चर्चित व्यक्तिहरू मल्लसरका चेला भएकोमा गौरव गर्ने प्रसङ्ग अझै स्मरणीय छ ।

सन्त नेता कृष्णप्रसाद भट्टराई लेख्छन्, “श्री वासुदेवचन्द्रजी अत्यन्त नै मिलनसार सहहृदयी मित्र भए । आफ्ना सारा परिवारको पल्टनिया सेवाको पृष्ठभूमि भएकाले उनी दृढ निश्चय र अनुशासनप्रिय थिए, जो पछि उनी प्राध्यापक सङ्घको दुई पटक अध्यक्ष हुँदा त्रिविको उपकुलपति हुँदा र चीनका लागि नेपालको राजदूत भई काम गर्दा समाजका लागि अत्यन्त उपयोगीसिद्ध भयो । राजनीतिक विचारधाराबाट प्रेरित भए तापनि शिक्षण पेसामा रमाउनुहुने मल्लले सन् १९५४ देखि ५६ सम्म त्रिचन्द्र कलेज र संस्कृत महाविद्यालयमा प्राध्यापन गरे ।

सन् १९६३ मा त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्रको प्रमुख भई सोही विभागमा लामो समयसम्म सेवा पनि गर्नुभयो । सन् १९६९ देखि एक वर्ष अमेरिकाको इलोनाइ र कोलम्बिया विश्वविद्यालयमा आगन्तुक प्राध्यापक भई कार्यसमेत गरे । सन् १९७५ (विसं २०३२) मा प्रजातन्त्रवादी भएको र प्रजातन्त्रवादी विद्यार्थीहरूको आन्दोलनमा समर्थन गरेको आरोपमा विश्वविद्यालय सेवाबाट उहाँलाई बर्खास्त गरियो ।

यो बर्खास्तीलाई त्रिभुवन विश्वविद्यालयको इतिहासमा एउटा कलङ्कका रूपमा लिने गरिन्छ । बर्खास्तीपश्चात् कुनै असन्तोष तथा आक्रोश व्यक्त नगरी प्राज्ञिक कार्यमा संलग्न हुनसक्नु उनको प्राप्ति हो । सन् १९७५ (विसं २०३२) मा प्राध्यापकबाट निष्कासन गरेकोमा सम्बन्धित पदाधिकारीहरूले कालान्तरमा ठूलो पश्चाताप गरेका र गल्ती भएको स्वीकार गरेका छन् । सन् १९९० (विसं २०४६) को आन्दोलनपश्चात् उनको ससम्मान पुनर्बहाली समेत भएको थियो ।

नेपाल प्राध्यापक सङ्घको इतिहासमा वासुदेवचन्द्र मल्ल कहिल्यै ननिभ्ने दियो हुनुभएको छ । उहाँ त्रिभुवन विश्वविद्यालय कलेजको सन् १९६४ देखि १९६६ सम्म प्राध्यापक सङ्गठनको अध्यक्ष भयाे । सन् १९८१ (विसं २०३८) मा पुनर्गठित नेपाल प्राध्यापक सङ्घको अध्यक्षमा निर्वाचित भई प्राध्यापकका हकहित र पदीय मर्यादाका लागि पहरेदारका रूपमा आफूलाई उभ्याउनुभयो । सन् १९९० (विसं २०४६) को आन्दोलनपश्चात् त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भई सङ्क्रमणकालीन राजनीतिक अवस्थामा विश्वविद्यालयको शाख र गरिमामा कुनै कमी हुन दिएनन्।

सन् १९९१ (विसं २०४८) मा गणतन्त्र चीनका लागि नेपालको राजदूत नियुक्त हुनुहुँदा त्यहीँबाट मङ्गोलिया र उत्तर कोरियाको पनि दूतावासको कार्यभार निर्वाह गरे। सन् १९९४ (विसं २०५१) मा नेपालको राजनीतिमा आएको परिवर्तनले उनलाई राजदूतबाट फिर्ता बोलायो । कार्यकाल पूरा नगरी फर्कनुपरेकामा उनले कुनै गुनासो समेत गरेनन् ।

गिरिजाप्रसाद कोइरालाले प्राध्यापक मल्ललाई एक सुयोग्य गुरुका रूपमा टिप्पणी गर्दै “…. उनी एक राष्ट्रवादी प्रजातन्त्रवादी व्यक्तित्वका रूपमा मात्र होइन एक अनुभवी प्राध्यापक शिक्षाविद चिन्तक एवं कुटनीतिक क्षेत्रका एक सशक्त व्यक्तित्वका रुपमा पनि सम्झन्छु”, भनेका थिए । वासुदेवचन्द्र मल्ल सन् १९७५ मा नेपाल काउन्सिल अफ वल्र्ड अफियर्सको संस्थापक अध्यक्ष भए । यो संस्थालाई नेपालको कूटनीतिक क्षेत्रमा एक अब्बल संस्थाका रूपमा गणना गरिन्छ । यसको श्रेय पनि मल्ल सरलाई नै दिनुपर्ने हुन्छ ।

यसैगरी प्रजातान्त्रिक विचार समाजका परिकल्पनाकार र संस्थापक अध्यक्ष पनि उनि नै थिए । उक्त संस्था हालसम्म पनि प्रजातन्त्र÷लोकतन्त्रको रक्षाका लागि निरन्तर सक्रिय रहेको छ । नेपाली कांग्रेसको अन्तरराष्ट्रिय विभागको सदस्य भई तथा अन्य विभिन्न समितिमा रही कार्यसम्पादन गरेका प्राध्यापक मल्ललाई कांग्रेसीजनले आफ्ना मार्गदर्शक र सल्लाहकारका रूपमा लिने गर्दथे । चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष भई शैशवकालमा रहेको उक्त अस्पताललाई सर्वसुलभ गुणस्तरीय सेवा दिने संस्थाका रूपमा अघि बढाउन उल्लेख्य कसरत गरे।

यसैगरी सन् १९६४ देखि १९६६ सम्म नेपाल राष्ट्रिय खेलकुद सङ्घको कोषाध्यक्षको उत्तरदायित्वमा निर्वाह गर्नुभएको भूमिका पनि प्रशंसनीय रहेकै छ । नेपाललाई अन्तरराष्ट्रिय क्षेत्रमा पहिचान गराउने सारथीका रूपमा प्राध्यापक मल्ललाई कूटनीतिज्ञहरूले श्रद्धा गर्ने गरेका छन् । प्राध्यापक मल्लले सन् १९६६ मा संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो भने चीन, श्रीलङ्का, जर्मनी, फिनल्यान्ड, अल्जेरियामा सम्पन्न अन्तरराष्ट्रिय विविध विषयक सम्मेलनमा सहभागी भई नेपालको दृष्टिकोण सशक्त रूपमा प्रवेश गराई मुलुककै नाम समुज्जवल गराउनुभएको थियो ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको भनाइमा “… राजनीतिमा लाग्ने सक्रिय रहने कुरामा पनि उनीबाट मैले उत्प्रेरणा पाएको छु …देशभक्त कर्तव्यनिष्ठ प्रजातन्त्रप्रति प्रतिबद्ध रूपमा मात्रै होइन प्रजातन्त्रलाई परिष्कार परिमार्जन गर्दै प्रजातान्त्रिक आदर्शप्रति अविचल प्राध्यापकका रुपमा पाएँ । विद्वानहरू सबै हिम्मतवान हुँदैनन्, उनी हिम्मतिलो विद्वान थिए ।” यस्ता महान् व्यक्तित्व १५ अगस्ट १९९७ (२०५४ साउन ३१ गते) शुक्रबार बिहान ५ः०० बजे नित्य पूजाआजा गर्दागर्दै भगवान्को प्यारो भए।

प्राध्यापक मल्लको निधनले एक शिक्षाविद्, प्रजातान्त्रिक योद्धा, समाजसेवी, बौद्धिक जगत्का एक उज्ज्वल नक्षत्रको अस्त भएको टिप्पणी सर्वत्र गरिएको थियो । प्राध्यापक मल्ल नेपाल प्राध्यापक सङ्घका प्रणेता, प्रजातान्त्रिक विचार समाज र नेपाल काउन्सिल अफ वल्र्ड अफेयर्सका संस्थापक एक समाजसेवी, शिक्षाविद्, कुशल प्रशासक र कूटनीतिज्ञ, राजनीतिक विश्लेषक थिए ।

उनलाई अनुकरणीय प्राध्यापक र मानवताका सरल पात्रका रूपमा नेपाली समाजले लिने गरेको छ । स्वर्गीय मल्लको आदर्श र उनले देखाएको मार्गमा अग्रसर हुने सत् उद्देश्यका साथ वासुदेवचन्द्र मल्ल प्रतिष्ठान २०५४ सालमा नै स्थापना भएको थियो । सो संस्थाले नेपालको शिक्षा, साहित्य, समाजसेवा, प्रशासन, कूटनीतिजस्ता क्षेत्रमा उल्लेख्य योगदान गरेका व्यक्तिलाई सम्मान गर्न प्रत्येक साल श्रावण ३१ गते स्मृतिसभा आयोजना गर्दै आएको छ । यसले वासुदेवचन्द्र मल्लको नाम नेपालको इतिहासमा सदैव स्थापित र अमर भइरहनेछ । (लेखक संस्कृतिविद् हुन्)

प्रतिक्रिया