गौरा पर्व : ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्व

गौरा पर्व नेपालको सुदूरपश्चिम, कर्णाली प्रदेशका पहाडी जिल्लाहरू र भारतको उत्तराखण्डमा विशेष श्रद्धा र भक्ति भावले मनाइने एक महत्त्वपूर्ण धार्मिक, सांस्कृतिक र सामाजिक पर्व हो। भाद्र महिनाको कृष्ण पक्षको पञ्चमी तिथिबाट सुरु हुने यो पर्व ऋषि पञ्चमीका दिन प्रारम्भ भई अष्टमीको दिन बिरुडाले टाउको पूजन गरिसकेपछि अष्टमीपछि शुभ दिनमा फाग गाउँदै गौरा र महेश्वरको प्रतिमा धार्मिक स्थलमा विसर्जन वा सेलाउने दिनसम्म मनाउने मौलिक पर्व हाे। विशेषतः महिलाहरू यस पर्वमा संलग्न भएर गौरा देवीको पूजा आराधना गर्दछन्।
गौरा पर्वको उत्पत्तिलाई पार्वती (सतीदेवी) र भगवान महादेवसँग जोडिन्छ। पुराणानुसार पार्वतीले भगवान महादेवलाई वर पाउनका लागि कठोर व्रत तथा तपस्या गर्नुभएको थियो। त्यसै कथासँग सम्बन्धित यो पर्व महिलाहरूले आफ्ना श्रीमानको दीर्घायु, परिवारको सुख–समृद्धि र सन्तानको कल्याणका लागि देवी गौरा (पार्वती) को पूजा गर्ने चलनको रूपमा विकसित भएको हो।
यो पर्वको मुख्य विशेषता बिरुडा पूजन हो। बिरुडा भन्नाले पाँच किसिमका अन्नहरू (गहत, मास, केराउ, गुराँस, गहुँ ) लाई जनाइन्छ। महिलाहरूले यी अन्नहरूलाई केही दिनअघि घरमा शुद्ध तामाको भाँडामा भिजाएर ऋषि पञ्चमीका दिन स्नान ध्यान गरी पूजन गर्दछन्। यस पूजनलाई शुद्धता, आस्था, समृद्धि र सामूहिकताको प्रतीक मानिन्छ।
षष्ठी र सप्तमीको दिन बिरुडा धुने, गौरा तयार पारेर गौरा घरमा ल्याएर व्रत बसेका महिलाहरूले घाँटीमा लगाउने विशेष दुबधागो चढाउने गर्दछन्। अष्टमी अर्थात् गौरा पर्वको दिन व्रत बसेका महिलाहरू गौरा मनाउने स्थल अथवा गौरा खालोमा बिहानैदेखि पूजा अर्चना गर्ने गर्छन्। यसरी विशेष पूजा अर्चनापछि गौरालाई चढाएका फलहरु सफा कपडामा राखेर पुरुषहरुले श्रद्धालुहरूको भिडतिर फाल्ने गर्दछन् जसलाई फल फट्काउने भनिन्छ। यसरी फल प्राप्त गर्ने व्यक्तिहरु भाग्यमानी र उनीहरूले सोचेको कुरा पूरा हुन्छ भन्ने जनविश्वास छ। उक्त कार्य पछि अभिषेक गरिएको दुबधागो व्रत बसेका विवाहित महिलाहरूले घाटीमा लगाएर गौराको पूजा अर्चना गर्दछन् र प्रसादको रुपमा बिरुडा ग्रहण गरिसकेपछि घरपरिवारका सदस्यहरुलाई टाउकोमा पुज्ने कार्य गरी आशीर्वाद प्रदान गर्ने गरिन्छ।
गौरा पर्वमा महिलाहरू परम्परागत ढंगले सजधज भई डोलीमा प्रतिष्ठा बनाएको गौरादेवी र महेश्वरको प्रतिमा टाउकोमा राखेर नाच्दै र फाग गाउँदै पूजा अर्चना गर्छन्। पूजा अर्चनापछि सामूहिक रूपमा गाउँभरि देउडा खेल्ने परम्परा रहिआएको छ। देउडा गायन र नृत्य यस पर्वकै मौलिक सांस्कृतिक पहिचान हो, जसको उत्पत्ति पनि यस पर्वसँगै गाँसिएको मानिन्छ। देउडामा महिलादेखि पुरुष, युवा, बालबालिकासम्म सबै उमेर समूह सहभागी भई सामाजिक एकता, सद्भाव र सामूहिक भावनाको प्रदर्शन गर्दछन्।
समग्रमा, गौरा पर्व धार्मिक श्रद्धा मात्र नभई सामाजिक, सांस्कृतिक र पारिवारिक जीवनलाई सशक्त रूपमा प्रभावित गर्ने पर्व हो। बिरुडा पूजन, गौरा देवीको आराधना, देउडा खेल र अन्तिम दिनको टाउको पूजन तथा आशीर्वाद दिने परम्पराले यस पर्वलाई अद्वितीयमक बनाएको छ। यो पर्वले महिलाको भक्ति, समाजको एकता र सुदूरपश्चिम–कर्णाली क्षेत्रको मौलिक संस्कृति जगेर्ना गर्न महत्वपूर्ण योगदान पुर्याइरहेको छ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
प्रतिक्रिया