सोमबार, मंसिर १, २०८२

राजनीतिक जटिलताको समाधान संविधानले नै दिनुपर्छ : देउवा  

मेरोन्यूज २०८२ असोज १३ गते ११:५१

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विषम परिस्थितिमा दुर्गा भवानीले सबैलाई  आत्मबल र दृढशक्ति प्रदान गरुन् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

बडादशैँको उपलक्ष्यमा आज शुभकामना सन्देश जारी गर्दै उनले संविधान मुलुकको सर्वोच्च कानून भएकाले संविधानभित्रबाटै अहिलेको समस्याको समाधान खोज्न आग्रह समेत गरेका छन् ।

सन्देशमा भनिएको छ– ‘नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र हो, हामीमा निहित बन्धुत्व भावले यी विविधताबीच पनि अनुपम एकता कायम गरेको छ, विविधता बीचको एकता नेपालीको विशेषता र पहिचान पनि हो, हरेक बडादशैँले समुदाय, संस्था, परिवार र व्यक्ति–व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छ ।’

उनले गत भदौ २३ र २४ गते  ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा युवा र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले अमूल्य जीवन गुमाएको दुःखद क्षणमा वीर सपुतहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । यस्तै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

प्रतिक्रिया