बुधबार, चैत २५, २०८२

बन्धक मुक्त भएपछि गाजाका सुरुङहरू नष्ट गर्ने इजरायलको घोषणा

मेरोन्यूज २०८२ असोज २७ गते ८:१२

इजरायलले आफ्ना बन्धकहरू मुक्त भएपछि अमेरिकी स्वीकृतिमा गाजा क्षेत्रमा रहेको हमासको भूमिगत सुरुङ सञ्जाल पूर्ण रूपमा नष्ट गर्ने योजना बनाएको जनाएको छ । रक्षामन्त्री इजरायल काट्जले आइतबार जारी गरिएकाे विज्ञप्तिमा भने, “बन्धक मुक्तिको चरणपछि इजरायलको सबैभन्दा ठूलो चुनौती गाजामा रहेका हमास आतङ्कवादी सुरुङहरूको सम्पूर्ण विनाश हुनेछ ।

Advertisement
nepal life insurencenepal life insurence

मैले सेनालाई यो अभियानका लागि तयार रहन आदेश दिएको छु ।” काट्जका अनुसार यो अभियान संयुक्त राज्य अमेरिकाको नेतृत्वमा स्थापित ‘अन्तर्राष्ट्रिय संयन्त्र’ अन्तर्गत सञ्चालन गरिनेछ । उक्त संयन्त्रले हालै सम्पन्न तीन दिनको गाजा युद्धविरामलाई पनि प्रायोजन गरेको थियो । हमासले गाजा भूमिगत क्षेत्रमा व्यापक सुरुङ सञ्जाल सञ्चालन गर्दै आएको छ ।

ती सुरुङले हमासका लडाकूहरूलाई इजरायली निगरानी र हवाई आक्रमणबाट बच्न मद्दत गर्दछ । ती सुरुङमध्ये केहीले इजरायलको सीमापर्खालमुनि प्रवेश गर्दै आकस्मिक आक्रमणहरू गर्न सम्भव बनाएका थिए । सन् २०२३ को अक्टोबर ७ मा हमासद्वारा गरिएको सीमापार आक्रमणपछि सुरु भएको दुई वर्ष लामो युद्धमा यी सुरुङहरू मध्ये धेरै नष्ट भइसकेका छन् ।

तथापि रक्षामन्त्री काट्जले बाँकी रहेका सबै सुरुङहरू ‘हमासको निःशस्त्रीकरण र विसैन्यीकरणको ढाँचा’ अन्तर्गत पूर्ण रूपमा ध्वस्त पारिने बताउनुभयो । यो योजना अमेरिका समर्थित युद्धविरामको दोस्रो चरणमा समावेश गरिएको छ । हमासले भने अमेरिकी प्रस्तावको पहिलो चरणमा सहमति जनाइसकेको छ ।

उक्त सहमतिअनुसार गत शुक्रबार युद्धविराम लागू भएको हो । यस योजनाअनुसार सोमबारसम्म ४८ जना इजरायली बन्धकहरू — जीवित र मृत दुवै — मुक्त गरिने अपेक्षा गरिएको छ । यसको सट्टामा इजरायलले २५० जना ‘राष्ट्रिय सुरक्षा कैदी’ लाई रिहा गर्ने योजना बनाएको छ, जसमा घातक आक्रमणमा संलग्न भई दोषी ठहरिएका कैदीहरू र हाल इजरायली सेनाले नियन्त्रणमा लिएका करिब एक हजार सात सय गाजाबासी समावेश हुनेछन् ।

तर, हमासले निःशस्त्रीकरणको मागलाई अस्वीकार गरेको छ । सङ्गठनका वरिष्ठ अधिकारी होसम बद्रानले आइतबार एएफपीसँग कुरा गर्दै अमेरिकी योजनाको दोस्रो चरण ‘धेरै जटिल र कठिन’ रहेको प्रतिक्रिया दिनुभयो । इजरायलले भने गाजाको भूमिगत आतङ्कवादी संरचनालाई ‘पूर्ण रूपमा समाप्त गर्नु’ आफ्नो दीर्घकालीन सुरक्षा लक्ष्य भएको दोहो¥याएको छ ।

प्रतिक्रिया