जलवायु परिवर्तनको प्रत्यक्ष जोखिममा करिब ९० करोड गरिब मानिस

विश्वका करिब ८० प्रतिशत गरिब अर्थात् झण्डै ९० करोड मानिस अहिले जलवायु परिवर्तनका आघातहरूको प्रत्यक्ष जोखिममा रहेको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का कार्यवाहक प्रशासक हाओल्याङ जुका अनुसार खडेरी, बाढी, तातो लहर र वायु प्रदूषण जस्ता बढ्दो र गहिरिँदै गएका जलवायु प्रभावहरूबाट कोही पनि सुरक्षित छैन, तर ती प्रभावहरूको सबैभन्दा कडा चोट गरिब वर्गले बेहोर्नुपरेको छ ।
उनले आगामी नोभेम्बरमा ब्राजिलमा आयोजना हुने संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलन (कोप–३०) लाई विश्व नेताहरूले ‘जलवायु कार्यलाई गरिबी विरुद्धको कार्यका रूपमा हेर्ने अवसर’ बनाउन आग्रह गरे ।
युएनडिपी र अक्सफोर्ड पोभर्टी एन्ड ह्युमन डेभलपमेन्ट इनिसिएटिभले संयुक्त रूपमा प्रकाशन गरेको वार्षिक प्रतिवेदनअनुसार विश्वका १०९ देशमा रहेका एक अर्ब १० करोड मानिस अर्थात् करिब १८ प्रतिशत जनसङ्ख्या, ‘तीव्र बहुआयामिक गरिबी’ मा बाँचिरहेका छन् । यो गरिबी शिशु मृत्युदर, आवास, सरसफाइ, बिजुली र शिक्षामा पहुँचजस्ता मापदण्डहरूका आधारमा नापिएको हो । तीमध्ये आधा बालबालिका रहेका छन् ।
प्रतिवेदनमा बोलिभियाको सान्ता क्रुज डे ला सिएरा बाहिर बसोबास गर्ने गुआरानी आदिवासी समुदायका रिकार्डोको उदाहरण दिइएको छ । उनले आफ्नो परिवारका १८ सदस्यसँग सानो घर साझा गर्नुपरेको छ । घरमा एउटा मात्र शौचालय, काठ र कोइलाबाट चल्ने भान्सा छ र कुनै पनि बालबालिका विद्यालय जाने अवस्था छैन । प्रतिवेदनले यो अवस्थालाई ‘बहुआयामिक गरिबीको यथार्थ प्रतिबिम्ब’ भएको बताएको छ ।
विश्वका सबैभन्दा बढी प्रभावित क्षेत्रहरू उप–सहारा अफ्रिका र दक्षिण एसिया रहेका छन् । यी दुवै क्षेत्र जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक जोखिममा छन् । प्रतिवेदनले गरिबी र चार प्रमुख वातावरणीय जोखिमहरू — चरम गर्मी, खडेरी, बाढी र वायु प्रदूषण — बीचको सम्बन्धलाई स्पष्ट पारेको छ ।
गरिब परिवारहरू विशेष गरी असुरक्षित क्षेत्रहरूमा निर्भर भएकाले जलवायु आघातप्रति बढी संवेदनशील हुने प्रतिवेदनमा उल्लेख छ । कृषि र अनौपचारिक श्रममा निर्भर जनजीवनमा जब बारम्बार जलवायु विपद् आउँछ त्यसले विद्यमान अभावहरू झनै गहिरो बनाउँछ ।
विश्वव्यापी रूपमा ८८ करोड ७० लाख मानिस अर्थात् ७९ प्रतिशत गरिब जनसङ्ख्या कम्तीमा एउटा जलवायु जोखिमको प्रत्यक्ष असरमा परेका छन् । तीमध्ये ६० करोड ८० लाख मानिस चरम गर्मी, ५७ करोड ७० लाख वायु प्रदूषण, ४६ करोड ५० लाख बाढी र २० करोड ७० लाख खडेरीबाट पीडित छन् । करिब ६५ करोड १० लाख मानिस कम्तीमा दुई जोखिममा, ३० करोड ९० लाख तीन वा चार जोखिममा र एक करोड १० लाख मानिसले एउटै वर्षमा सबै चार जोखिम भोगेका छन् ।
दक्षिण एसियाले गरिबी घटाउने प्रगतिका बाबजुद पनि यसको ९९.१ प्रतिशत गरिब जनसङ्ख्या कम्तीमा एउटा जलवायु जोखिममा परेको छ । प्रतिवेदनले भनेको छ, “यस क्षेत्रले फेरि नयाँ मार्ग तय गर्न आवश्यक छ, जसले गरिबी न्यूनीकरण र जलवायु कार्यबीच सन्तुलन कायम गरोस् ।”
विज्ञहरूका अनुसार पृथ्वीको सतह तीव्र गतिमा तात्दै गएकोले स्थिति अझ जटिल हुनसक्छ र हालका सबैभन्दा गरिब देशहरू नै यसको सबैभन्दा ठूलो मारमा पर्न सक्छन् ।
प्रतिवेदनले निष्कर्षमा भनेको छ, “ओभरल्यापिङ जोखिमहरूको सामना गर्न मानव जीवन र पृथ्वी दुवैलाई प्राथमिकता दिन अपरिहार्य छ । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको पहिचानबाट तत्काल कार्यतर्फ अघि बढ्नु हो ।”
















No immediate Nipah virus threat in Sri Lanka: health official
हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध
Light snowfall and rain likely in Koshi, Bagmati and Gandaki today
Fire breaks out at Woodland Hotel
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
प्रतिक्रिया